नेभिगेशन
अन्य

बिपी सङ्ग्रहालयमा प्रजातन्त्र सेनानीको सम्मान

काठमाडौँ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्याएका सयौँ प्रजातन्त्र सेनानीलाई बिपी सङ्ग्रहालयमा आज सम्मान गरिएको छ । पशुपतिनाथ र बौद्धनाथ स्तूपको दर्शन गरेर आज सङ्ग्रहालय पुगेका प्रजातन्त्र सेनानीलाई नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सम्मान गर्दै छ महिनाभित्र स्थायित्व प्रदान गर्ने र सबै नेपालीले गर्वको महसुस गर्ने संविधान जारी गरिने बताए । ‘जनताबाट निर्वाचित प्रतिनिधिबाट संविधान निर्माण गर्ने सात दशक लामो सङ्घर्षलाई पूर्णविराम दिन पनि संविधानसभाबाट संविधान जारी गरिनुपर्छ’ , सिटौलाले भने, ‘बिपीले लिएको बाटो पनि यही हो ।’ पूर्वराज्यमन्त्री ऐश्वर्यलाल प्रधानले प्रजातन्त्रका लागि योगदान दिँदा योगेन्द्रमान शेरचनलाई ज्ञानेश्वरमा निर्मम ढङ्गले गाडीले किचेर मारेका जस्ता घटनाको अझै निष्पक्ष छानबिन हुन नसकेकामा दुःख व्यक्त गरे । काँग्रेसका नेता पुरुषोत्तम बस्नेतले बिपीको सपना साकार पार्नका लागि संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गरिनुपर्नेमा जोड दिए । सभासद् दीपक खड्काले स्वतन्त्रताका लागि सङ्घर्ष गर्नेहरुको तीर्थस्थलका रुपमा सङ्ग्रहालय स्थापित भएकाले प्रजातन्त्र सेनानीहरुको वास्तविक सम्मान भएको बताए । नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष टङ्क शर्मा कँडेलले अहिले पनि बिपी यहाँ हुनुहुन्छ भन्ने विश्वासमा सङ्ग्रहालयमा सयौँ सेनानी सम्मान ग्रहण गर्न आएको बताए । सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले २४ रोपनीमा सीमित सङ्ग्रहालयलाई विश्वविद्यालयका रुपमा स्थापना गर्न पुग्ने गरी जग्गाको व्यवस्था गरिदिन पार्टी नेताहरुलाई आग्रह गरे । विसं २०३० जेठ ३० गते आन्दोलनका क्रममा दलले प्रयोग गरेको हवाइजहाज अर्घाखाँचीमा २०७० सालमा दुर्घटनामा परेकाले त्यसलाई सङ्ग्रहालयमा सङ्ग्रह गर्ने पहल गरिदिन पनि उनले दलका नेतासमक्ष आग्रह गरे । कार्यक्रममा सहिद लीला दाहालकी माता अम्बिकाले कवितात्मक रुपमा भावनात्मक मन्तव्य दिँदै देशका लागि जीवन उत्सर्ग गर्ने सहिदको उचित सम्मान हुनुपर्ने बताइन् । सो अवसरमा सेनानीहरुले बिपी, गणेशमान, दिवानसिंह राई, रामनारायण मिश्र र योगेन्द्रमान शेरचनको प्रतिमामा माल्यार्पण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्