नेभिगेशन
अन्य

कालोबजारी गर्ने व्यवसायीलाई कारवाही गर्ने निगमको तयारी

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा देखिएको समस्या केही दिनभित्रै समाधान हुने पुनः दावी गरेको छ । लामो समयदेखि बजारमा खाना पकाउने ग्यासको अभाव भएपनि निगमले समस्या समाधान गर्न नसकिरहेको भन्ने आरोप लागेको सन्दर्भमा केही दिनभित्र पूर्ण समाधान हुने बताएको हो । व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा वाणिज्य समितिअन्तर्गतको उपसमितिको आजको बैठकमा निगमका महाप्रबन्धक डा गोपालबहादुर खड्काले अभावको कारण देखाएर अनावश्यक सञ्चिती गरेका कारण समस्या भएको बताए । केही ठूला होटल तथा व्यापारीको मनोमानीका कारण समस्या बढेको भन्दै उहाँले कम पेट्रोलियम पदार्थ उठाउने, तोकिएको कोटा भन्दा कम कारोबार गर्ने र ग्यासको कोटाअनुसारको कारोबार नगर्ने तथा तोकिएको मूल्य भन्दाबढी रकम लिने जोकोहीलाई पनि कारवाही गरिने प्रतिवद्धता व्यक्त गरे । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमले माग गरे भन्दाबढी कोटा उपलब्ध गराएको भएपनि बजारमा अस्वाभाविक प्रतिस्पर्धा हुँदा समस्या ज्यूँका त्यू रहेको र समस्या समाधानका लागि हरसम्भव उपाय अवलम्बन गरिएको महाप्रबन्धक खड्काको भनाइ छ । बैठकमा सांसदहरुले खाना पकाउने ग्यासको सिलिण्डर संख्या एकिन नभएको भन्दै निगमको ध्यानाकर्षण गराएका थिए । ग्यास उद्योगले मनलाग्दी संख्यामा सिलिण्डरको संख्या थप गरेको र पछिल्लो समयमा मात्रै चार लाख थान सिलिण्डर थप गरी हाहाकार पारेको भन्दै स्पष्ट जवाफको माग गरेका थिए । सांसदहरुको ध्यानाकर्षणको जवाफमा निगमका महाप्रबन्धक डा खड्काले बजारमा के कति मात्रामा सिलिण्डर रहेको छ भन्ने बारेमा तथ्यगत लगत संकलनको काम भइरहेको र केही समयभित्रै यर्थाथ संख्या आउने जानकारी गराएका थिए । उपसमितिका संयोजक नारायणबहादुर कार्कीले तत्काल अन्तर्राष्ट्रिय बजारमा समायोजन भएको मूल्यअनुसार पेट्रोलियमको मूल्य समायोजन गर्न, ग्यासमा अनुदान दिन निगमलाई निर्देशन दिइएको जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्