नेभिगेशन
अन्य

२००७ सालमा प्रजातन्त्र घोषणा गर्दा राजा त्रिभुवनले यसो भनेका थिए

काठमाडौं । आज एकसय चार वर्षीय राणशासन अन्त भएर नेपालीहरु स्वतन्त्र भएको संझनामा मुलुकभर ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदैछ । २००७ सालमा एक सय चार वर्षीय जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ । यही दिन अर्थात २००७ साल फागुन ७ गते तत्कालिन राजा त्रिभुवनले गरेको शाही घोषणा मार्फत यस्तो भनेका थिए । आगे हाम्रो मुलुकका भाइ–भारदार, सन्त–महन्त, रैती दुनियाँ, साहू मजाजन गैह्रके यथोचित, उप्रान्त सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राजभएको हाम्रा स्वर्गीय पूज्य जिज्युबुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले आफ्नु र आफ्ना उत्तराधिकारीहरुका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराज जङगबहादुर राणालाई सुम्पिबक्सेको हुनाले, उपर्युक्त श्री ३ महाराज जङगबहादुर राणाका उत्तराधिकारीहरुले हाम्रा पूर्वजहरुका तर्फबाट मौसुफहरुका प्राइममिनिष्टरहरुको हैसियतमा यो राज्यको शासन चलाइआएकोले, औ वर्तमान समयमा श्री ३ महाराज मोहनशमशेर जङगबहादुर राणाले हाम्रो तर्फबाट औ हाम्रो नाममा यो राज्यको शासन चलाई आएको हो, औ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले, औ सो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्य–सम्पादन गर्नमा मद्दत र सल्लाह दिनाका निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिहरुसमेत सम्मिलित भएको एक मन्त्रिमण्डलको संगठन होओस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले, तसर्थ हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रा अति विश्वासपात्र र प्रिय श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणा हाम्रो प्राइममिनिष्टर र परराष्ट्र मन्त्री, (२) श्री मिनिष्टर बबरशमशेर जंगबहादुर राणा रक्षामन्त्री (३) श्री विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री (४) श्री सुवर्णशमशेर अर्थमन्त्री (५) श्री चूडाराजशमशेर वनविभागका मन्त्री (६) श्री गणेशमान सिंह उद्योग–वाणिज्यमन्त्री (७) श्री नृप जंग राणा शिक्षामन्त्री (८) श्री भद्रकाली मिश्र यातायातमन्त्री (९) यज्ञबहादुर बस्न्यात स्वास्थ्य, स्वायत्त–शासनमन्त्री, (१०) श्री भरतमणि शर्मा खाद्य र कृषिमन्त्रीसमेत अरु मन्त्रीहरु सम्मिलित भएको एक मन्त्रिमण्डल गठन र नियुक्त गरिबक्सेका छौं । माथि उल्लेख गरिएका मानिसहरु हाम्रो इच्छाअनुसार आफ्नो ओहदामा रहनेछन् औ संयुक्तरुपमा हामीप्रति जिम्मदार रहनेछन् । यो राज्यको शासन–सम्बन्धी विषयहरुमा मन्त्रिमण्डलका सबै निर्णयहरु हामीलाई जाहेर गर्ने हाम्रो प्राइममिनिष्टरको कर्तव्य हुनेछ औ यो राज्यको शासन–सम्बन्धी विषयहरुका बारेमा हामीले खोजिबक्सेका सबै समाचार पनि उनीले हामीलाई जाहेर गर्ने उनको कर्तव्य हुनेछ । औ हामी यसद्वारा हाम्रा सबै प्रजालाई हामी र हाम्रा उत्तराधिकारी प्रति सच्चा वफादारी धारण गर्नाका निमित्त आमन्त्रण गर्दछौ औ हाम्रा सबै जंगी, निजामती अफिसरहरु र यो राज्यका अरु वासिन्दाहरुलाई आज्ञाकारी भई हाम्रा मन्त्रीहरुलाई निजका कर्तव्यको सम्पादनमा मद्दत र सहायता गर्नालाई आदेश गरिबक्सेका छौं । राजनैतिक अपराधमा परेका सबैलाई निजहरु २००७÷१२÷२०÷२ अघि आफ्ना घर फर्की शान्तिमय कामकाजमा लागे भने निजहरुलाई माफी र विस्मृति दिने, औ त्यस्ता अपराधमा जफत भएका निजहरुका जायदाद तिनीहरुलाई फिर्ता दिने हाम्रा शाही इच्छा छ । यो हाम्रो आन्तरिक आशा छ कि यो नयाँ व्यवस्थामा सरकार र दुनियाँले मिलिजुली नेपालको उन्नति र समृद्धिका निमित्त प्रयत्न गर्नेछन् । परमेश्वरले हामीलाई र हाम्रा अधिकारीवर्गलाई हाम्रा प्रजाको हितका निमित्त उपर्युक्त हाम्रा इच्छाहरु पालन गर्ने शक्ति दिउन् । – नेपाली विकिपीडियाबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै