नेभिगेशन
अन्य

सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा

सोलुखुम्बु । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल कांग्रेस महामन्त्री रहेका सिंहले सभापति पदमा दाबी गरेका हुन् । सोलुखुम्बुको सल्लेरीमा बुधबार आयोजित साक्षात्कारमा गणेशमान पुत्र सिंहले भने–‘म पार्टीको उपसभापति र निर्वाचित महामन्त्री समेत भैसकेकाले अब १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन्छु ।’ पार्टीका सबै नेतृत्वपंतिको समर्थन लिएर आफू सभापति बन्ने उनले दाबी गरे । कांग्रेसले आगामी १३ औं महाधिवेशन भदौ २४ देखि २८ सम्म काठमाडौंमा गर्दै छ । साक्षात्कारमा सिंहले एमाओवादी नेतृत्वको मोर्चाले फागुन १६ मा गर्ने भनेको जनसभा र प्रदर्शनको कुनै तुक नभएको टिप्पणी समेत गरे । उनले भने, ‘फागुन १६ को आन्दोलनको कुनै तुक छैन, सडकबाट संविधान जारी गर्ने दिवासपना नदेखे हुन्छ ।’ बहुमतबाट संविधान बनाउने प्रक्रिया विपक्षिले रोक्न भन्दैमा नरोकिने भन्दै सिंहले एमाओवादी र उ नेतृत्वको मोर्चामा आबद्ध दलहरुले अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेर संविधान सभा माथि प्रहार गरेको आरोप लगाए । बुधबार भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणु देवीले नेपाल हिन्दु राज्य रहिरहने भनेर दिएको अभिव्यक्तिप्रति पत्रकारले राखेको जिज्ञासामा सिंहले विदेशीले भन्दैमा ०६२/६३ को जनआन्दोलनको मर्मलाई नभुल्ने बताए । उनले भने, ‘भारतले भन्दैमा नेपालमा केही पनि हुँदैन, नेपालको भावि दिशा नेपालीले नै तय गर्ने हो ।’ साक्षात्कारमा सिंहले विपक्षि दलसँग सहमतिको वातावरण भाँडिने डरले आफू स्थानीय निकायको निर्वाचनबाट पछि हटेको दाबी समेत गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्