नेभिगेशन
अन्य

ओली नेतृत्वमा आएपछि नयाँ जंगबहादुर बने :भट्टराई

रोल्पा । एमाओवादीका नेता बाबुराम भट्टराईले केपी ओली एमाले नेतृत्वमा आएपछि ‘नयाँ जंगबहादुर’ बनेको आरोप लगाएका छन् । ‘गत असारमा केपी ओली नेतृत्वमा आएपछि आफूलाई नयाँ जंगबहादुर ठानेर सुशील कोइरालासँग गठबन्धन गरी प्रतिगमनतर्फ फर्किए,’ रोल्पा सदरमुकाममा आज पत्रकारहरूसँग भट्टराईले भने, ‘त्यसको अन्तिम रुप माघ ११ को संवैधानिक कु हो। त्यो नसच्चिएसम्म वार्ताको अर्थ छैन ।’ समय हुँदा वार्ता नगर्ने र अहिले पार्टी आन्दोलनमा उत्रिन थालेका बेला त्यसलाई रोक्न भ्रम फिँजाइएको आरोप उनको थियो । ‘वार्ताका लागि वार्ता अब जरुरी छैन । गत एक वर्ष मैले संवाद समितिको सभापतिको हैसियतले सबैभन्दा बढी वार्ताको आयोजना गरेको छु,’ उनले भने । पश्चिम कमान्डको नेतृत्व लिएका भट्टराईले माघ २१ बाट फागुन १६ गतेसम्म खबरदारी र भण्डाफोर नामक जनपरिचालन अभियान सुरु गरिएको बताए । संघीय, समावेशी, समानुपातिक र लोकतान्त्रिक संविधान जनताले चाहेको उल्लेख गर्दै नेता भट्टराईले त्यो भनेको २०४७ सालको संविधान नभएको बताए। अहिले कांग्रेस, एमाले र राप्रपाले अपवित्र गठबन्धन गरेर हिजोको परिवर्तनलाई उल्टाउँदै २०४७ सालको संविधान थोपार्ने प्रयत्न गरेको उनको आरोप थियो । माघ ११ गते सभाध्यक्षमार्फत संवैधानिक कु गरियो । संविधानसभाको अपहरण गरियो,’ उनले भने, ‘त्यसैले अब जनदबाबमार्फत् त्यो संविधानसभा जनताको हातमा ल्याउनु पर्छ ।’ नेता भट्टराईले अगाडि भने, ‘हिजो ५२ सालमा हामी सानो शक्ति थियौँ । त्यो बेला पनि यिनीहरु नै सत्तामा थिए । त्यसका विरुद्धमा हामी ५०–६० जनाले विद्रोह गरेका थियौँ। अहिले त लाखौँको शक्ति हामीसँग छ ।’ ‘१६ गते सम्म हेर्छौं , एकपक्षीय रुपमा अगाडि बढेर २०४७ सालकै संविधान खोल फेरेर ल्याउने प्रयत्न गरियो भने संविधानसभामा रहेका १९ दलले समानान्तर संविधानसभा आयोजना गरेर समानान्तर संविधान जारी गर्छौ,’ भट्टराईले चेतावनी दिए, ‘समानान्तर संविधान र सत्ता सञ्चालन गर्छौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्