नेभिगेशन
अन्य

भक्तपुरको आगलागीमा पचहत्तर लाख बराबरको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा गएराति भीषण आगलागी हुँदा ७५ लाख बराबरको क्षति भएको छ । लोकन्थलीको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो । आगलागीबाट दुईवटै उद्योगको ६ वटा मेसिन, लाखाँै बराबरको कपास, फर्निचर र विभिन्न सामान गरी रु ७५ लाख बराबरको क्षति भएको दुईवटै उद्योगका सञ्चालक दोलखा पोवटी–५ घर भई लोकन्थली स्थानिय बलराम उप्रेतीले जानकारी दिए । दिउँसो विद्युत्भार कटौतीले गर्दा विद्युत् नहुने भएकाले राति विद्युत् आएको बेलामा काम गर्दै आएको उद्योगमा राति २ बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको उनले बताए । आगलागीले प्रत्यक्ष रुपमा ३५ र अप्रत्यक्ष रुपमा २०० मजदुरको रोजीरोटी खोसिएको छ । आगलागीबाट दुईवटै कारखानाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली तथा प्रहरी, काठमाण्डौ र ललितपुरका ६ वटा दमकलले बिहान ५ बजे आगो नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्