नेभिगेशन
अन्य

धादिङमा कक्षाभित्रै विद्यार्थीमाथि खुकुरी प्रहार

काठमाडौं । धादिङको जिल्लाकै तिप्लिङ गाविसमा कक्षा कोठा भित्र पढिरहेका विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ । जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको तिप्लिङ गाविस वडा नम्बर ३ को दोङ्देन माध्यामिक विद्यालयका एक विद्यार्थीमाथि पढिरहेको ठाउँमै खुकुरी प्रहार भएको हो । विद्यालयको कक्षा ९ मा पढिरहेका १५ वर्षीय अशोक भनिने एलेरोङ तामाङलाई विहिबार दिउँसो हतियारसहित कक्षाकोठा भित्र प्रवेश गरेको समूहले खुकुरी प्रहार गरी घाईते बनाइएको प्रहरीले जनाएको छ । तामाङ, घले र थोरै संख्यामा दलित समुदायको वसोबास रहेको तिप्लिङ गाविस जिल्लाको सबैभन्दा विकटमा रहेको हिमाली बस्ती हो । तिप्लिङकै वडा नम्बर ५ का सुलेमान तामाङ सहित ५÷६ जनाको समूहमा आएका यूवाहरुले कक्षाकोठा भित्र प्रवेश गरी एक्कासी खुकुरी कुटपिट गर्दै खुकुरी लगायतका धारिलो हतियार प्रहार गरि घाईते बनाएका हुन् । दुई समूहमा रहेका विद्यार्थीहरु बिच पहिलेदेखि जारी रहेको मनमुटावका कारण सोही विद्यालयमा पढ्ने विद्यार्थीहरुको एक समूहले बिहीवार तामाङमाथि खुकुरी हानेको स्थानीयले वताएका छन् । धारिलो हतियार प्रहारबाट तामाङको टाउको, हात र खुट्टामा गम्भीर चोट प्रहरीले जनाएको छ । खुकरी प्रहारबाट सख्त घाइते भएका तामाङलाई तिप्लिङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाडौंबाट झिकाईएको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । शिक्षकले पढाउँदै गरेको बेला कक्षाकोठाभित्र हातमा खुकुरी र अन्य हतियार सहित कक्षाकोठा भित्रपसेको समूहले कुटपिट गर्दै खुकुरी प्रहार गरी भागेको स्थानीयले बताएका छन् । त्यस्तै सोही गाविसको वडानं ३ मा बुधबार राति युवाहरुको बिचमा भएको झगडामा खकुरी प्रहार हुँदा चे घले घाइते भएका थिए । दुबै घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थल अति विकटमा रहेको छ भने सडक र प्रभावकारी सञ्चारको पहुँच समेत पुग्न सकेको छैन । गाविसभरीका वासिन्दाको लागि तिप्लिङ ठूलो गाउँमा रहेको २ लाईन भिस्याट फोनबाट महंगो शुल्क तिर कुराकानी गर्नुपर्ने वाध्यता छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्