नेभिगेशन
अन्य

तीन महिनाको पेस्की झिकेर एमाओवादी मोर्चाका सभासद् आन्दोलनमा

काठमाडौं । व्यवस्थापिका संसदअन्तर्गत सार्वजनिक लेखा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा छलफल र निर्णय लिनुपर्ने फाइलका खात छन् तर दुवै समितिका बैठक १५ दिनदेखि बस्न सकेका छैनन्। समितिका सभापति र सदस्यहरु भने सभासद एवं सभापति रहेबापत पाउने तलबभत्ता अग्रिम रुपमा बुझेर पार्टीले घोषणा गरेको आन्दोलनमा खटिएका छन्। लेखा समिति सभापति जनार्दन शर्मा र श्रम समिति सभापति प्रभु साह मात्र होइन, विपक्षी दलका अधिकांश सभासद तीन महिनासम्मको पेस्की निकालेर आन्दोलनका मोर्चामा खटिएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ । सचिवालयका अनुसार कुनै कारण जनाएर सभासदले तीन महिनासम्मको पारिश्रमिक अग्रिम पेस्कीका रुपमा निकाल्न पाउँछन्। त्यसभन्दा बढी पेस्की लिनुपरे बिरामी भएर अस्पताल रहेको पुष्टि हुने कागजपत्र बुझाउनुपर्छ। यही नियमको फाइदा उठाउँदै सभासदहरु अनेक बहानामा वैशाखसम्मको पेस्की निकालेर जिल्ला–जिल्ला परिचालित भएका हुन्। सचिवालय उच्चस्रोत अनुसार यसरी पेस्की लिनेमा सत्तापक्षका एकाधबाहेक अधिकांश आन्दोलनका घटक दलका सभासद हुन्। एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम नेपाल, तराई–मधेस सद्भावना पार्टी नेपाललगायत दलका सभासद पेस्की बढी लिने सूचीमा छन्। कतिपय त माघ ११ यता संसदीय समिति र संविधानसभाका कुनै पनि समिति र पूर्ण बैठकमा उपस्थित नभएका सभासद छन्। माघको तलबबाहेक ६५ सभासदले ७१ लाख ३१ हजार ६ सय २० रुपैयाँ पेस्की झिकेको सचिवालयमा रेकर्ड छ। त्यसो त माघसम्मको तलब सबै सभासदले पाइसकेका छन्। वैशाखसम्मकै पेस्की झिकेर आन्दोलनमा जानेमा एमाओवादीका अमनलाल मोदी, मोहम्मद जाकिर हुसैन, मानपुर चौधरी, अशोककुमार मण्डल, फोरम नेपालकी उषा यादव, तराई मधेस सद्भावना पार्टीकी अमेरिका कुमारीलगायत छन्। एक महिनाभन्दा बढीको तलबभत्ता पेस्कीका रुपमा निनकाल्नेमा एमाओवादीकै योगेन्द्र तामाङ, मानबहादुर थारू, शक्ति बस्नेत, फोरम लोकतान्त्रिकका रामजनम चौधरीलगायत रहेको स्रोतले जानकारी दिएको छ। मोदी र मण्डल माघ ६ गते बिहान संविधानसभामा भएको तोडफोड र सभाध्यक्षमाथि जुत्ता प्रहार, माइक तोडफोडलगायत घटनामा मुख्य रुपमा संलग्न सभासद हुन्। यी दुईले मात्र १ लाख ३२ हजार ५ सय ४० रुपैयाँ पेस्की रकम झिकेका छन्। सभासदका अन्य सुविधाबाहेक मासिक पारिश्रमिक मात्रै पेस्की दिन सकिने सचिवालयस्रोतले जानकारी दियो। एक सभासदले तलबभत्ता र सुविधाबापत मासिक ८० हजार ६ सय २८ बुझ्छन्। यसमा पारिश्रमिक मात्र ४४ हजार १ सय ८० रुपैयाँ हो। धारा, बिजुली, टेलिफोन, आवास, मसलन्द, पत्रपत्रिका, निजी सचिवालयका कर्मचारी तलब सबै जोड्दा ८० हजार ६ सय २८ पुग्छ। समिति सभापति र विपक्षी दलका प्रमुख सचेतकको मासिक सुविधा १ लाख २९ हजार ८ सय १३ रुपैयाँ हुन्छ। त्यसबाहेक गाडी, कार्यालय, कर्मचारी, ड्राइभर सुविधा बेग्लै उपलब्ध गराइन्छ। उनीहरुले मासिक पारिश्रमिक मात्र ४६ हजार २ सय २० रुपैयाँ पाउँछन्। सभासद साह श्रम समिति सभापतिका हैसियतमा प्राप्त सुविधा प्रयोग गर्दै ३० दलीय मोर्चाले गरेको आन्दोलन क्रममा मधेसमा कार्यकर्ता परिचालन गर्दागर्दै काठमाडौं फर्किएका छन्। समाचार नागरिक दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै