नेभिगेशन
अन्य

नेपाल वायुसेवा निगमको नयाँ जहाज आज आइपुग्दै, स्वागतका लागि बिषेश कार्यक्रम

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम फ्रान्सेली कम्पनी एयरबससंग किनेको नयाँ जहाज आज आइपुग्दै छ । आइतबार अन्तराष्ट्रिय उडानका लागि एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जहाज आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने भएको छ । नयाँ जहाज आइतबार बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ । जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिए । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दीपकचन्द्र अमात्य, नेपालस्थित फ्रान्सेली राजदुतलगायतले पञ्चेबाजा बजाएर जहाजको स्वागत गर्ने तयारी गरिएको छ । निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद–बिक्री सम्झौता गत वर्ष सम्पन्न भएको थियो । निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरुप पाँच लाख अमेरिकी डलर (त्यसबेलाको रु ४ करोड ३५ लाख ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच रु १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो । साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने भएको छ । नयाँ जहाज अवतरण भएको दुई महिनापछि दोस्रो जहाज पनि आइपुग्न लागेको हो । सम्झौताअनुसार एउटा जहाजको अंकित मूल्य (क्याटालग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर (रु ७ अर्ब २० करोड) रहेको छ । निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको अंकित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो । पाँच वर्षअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (रु तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो । त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो । निगमले ल्याउने सो जहाजमा १५० सिट हुन्छन् । निगमले भने यसमा सिट बढाएर १६४ बनाएको छ । निगमलाई जहाज किन्न कर्मचारी सञ्चय कोषले एकमुष्ठ रु १० अर्ब ऋण दिएको थियो । कोषलाई जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ । अन्तराष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याजदर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखिएको छ । हाल निगमको जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगन गरेको छ भने भारतको राजधानी नयाँदिल्ली उडान पूर्णरुपमा बन्द छ । नयाँ जहाज आएपछि ती स्थानमा उडान सङ्ख्या बढाउने निगमको योजना रहेको छ । जहाज अभावमा झन्डै रु एक खर्बको अन्तर्राष्ट्रिय उड्डयन बजारमा निगमको हिस्सा ३ दशमलव ८ प्रतिशतमा झरिसकेको छ । अब नयाँ जहाज आएपछि निगमको हिस्सा बढ्ने विश्वास लिइएको छ । निगमले हाल सञ्चालनमा ल्याइरहेको जहाज २०४३ र २०४४ सालमा किनेको थियो । त्यसयता निगमले आधादर्जन पटक जहाज ल्याउने प्रयास गरेपनि सफल भएको थिएन । केही समय पहिले निगमले चीनमा निर्मित एम ए ६० र वाइ १२ मोडलका दुईवटा जहाज ल्याइसकेको छ । एमए ६० ले सुगम गन्तव्यमा उडान गरिरहेको छ भने वाइ १२ ले पोखरा र अन्य दुर्गम गन्तव्यमा उडान गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै