नेभिगेशन
अन्य

मध्यमार्गी भूमिका खेलिदिन गच्छदारलाई ओलीको आग्रह

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि मध्यमार्गी भूमिका खेलिदिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग आग्रह गरेका छन् । चार दिनदेखि विराटनगरमा रहेका गच्छदारलाई काठमाडौंबाट ओलीले टेलिफोन गरि वार्ताको वातावरण बनाउन मध्यमार्गी भुमिका खेल्न आग्रह गरेका हुन् । ओलीले संक्रमणकालिन परिस्थितिमा मध्यमार्गी भूमिका खेलदिन र तत्कालै राजधानी आएर समस्या समाधानका लागि निर्णायक भूमिका खेलिदिन आग्रह गरे । गच्छदारले ओलीलाई सत्तापक्ष पनि लचिलो हुनुपर्ने जवाफ फर्काका थिए । गच्छदारले ओलीसँग राजनीतिक निकासका लागि छलफल भएको जानकारी विराटनगरका पत्रकारलाई दिएका थिए । यसैबीच सत्तारुढ एमालेले माघ ५ गते भएको सहमतिबाटै वार्ता थाल्न प्रस्ताव गरेको छ । पार्टी मुख्यालय बल्खुमा शनिबार बसेको स्थायी कमिटी बैठकले माघ ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिबाटै वार्ता थाल्न प्रस्ताव गर्ने निर्णय गरेको छ । ओली र दाहालबीच माघ ५ गते बिहान संविधानका अन्तरवस्तुमा सहमति भएको नेताहरुले बताएका थिए । तर, १९ दलीय मोर्चालाई मनाउन गएका दाहाल पुनः सहमतिबाट पछाडि फर्केको ओलीले आरोप लगाउँदै आएका छन् । एमाले सचिव एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माघ ५ गते ओली र दाहालबीच भएको छलफललाई प्रस्थानविन्दु बनाउन सकिने बताए । ओली र दाहालबीच मिश्रति निर्वाचन प्रणाली, न्याय प्रणालीमा सहमति भएको थियो । शासकीय स्वरुपमा फरक मत राखेर जान दाहालले ओलीसँग सहमति जनाएका थिए । संघीयतामा भने संख्यामामात्रै करिव करिव सहमति भएको नेताहरुले नै बताएका छन् । एमालेले संविधानसभा बैठक छाडेर जाने एमाओवादी र मधेसी दलले गलत बाटो रोजेको प्रतिक्रिया दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्