नेभिगेशन
अन्य

‘आन्दोलनको साटो चुनाव गरेर, सांसद हुनुहोस, मन्त्री हुनुहोस’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी नेतृत्वको मोर्चाले सिठी बजाएकै भरमा अहिले जनता सडकमा नआउने बताएका छन् । प्रेस चौतारी नेपाल १७ औं स्थापना दिवसको अवसरमा बोल्दै ओलीले दास्रो संविधानसभाले जसरी पनि संविधान जारी गर्ने बताए । ‘हामी संविधान निर्माण गर्ने प्रक्रियामा छौं । हामी असफल भई घोसेमुन्टो लाएर फर्कदैनौं’, ओलीले भने । संविधानसभाले प्रक्रियाबाट संविधान जारी गर्छ भन्दा एमाओवादी नेतृत्वको मोर्चाले बहुमतको दम्भ देखाएको आरोप लगाएको उल्लेख गर्दै उनले भने, ‘हामीले कसरी दम्भ देखाउनेरु एमालेसँग एक तिहाइ नै छैन, कांग्रेस र एमाले मिल्दा पनि दुई तिहाइ पुग्दैन, अरुसँग सहमति र सहकार्य नगरी हुँदैन ।’ उनले अहिले एमाले कांग्रेसलाई संविधान बनाउन खोज्ने अपराधीको आरोप लागेको बताए । ‘म नम्र भएर भन्छु, संविधानसभा संविधान बनाउन आएकाले संविधान बनाउँछु’ उनले भने । ओलीले एमाओवादी नेतृत्वको मोर्चालाई लक्षित गर्दै भने, ‘८ गते संविधान नआउने अवस्थामा पनि प्रक्रियाले पाइला टेकोस् भन्ने कुरा रोकेपछि कतिपयले विजय उत्सव मनाए । संविधान बन्न नदिएकोमा गर्व गर्नेहरूलाई बधाइ दिए ।’ उनले विगतमा जनताले राणा, राजाको निरंकुशताविरुद्ध आन्दोलन गरेको तर अहिले देशमा कुनै निरंकुशता नभएकाले जनता आन्दोलनमा नजाने ठोकुवा गरे । ‘आन्दोलनको साटो चुनाव गर्नुहोस ।, सांसद हुनुहोस, मन्त्री हुनुहोस तर मर्ने किन ? किन भाच्ने हातखुट्टारु किन फुटाउने टाउको ?’ उनले भने ‘आवेशको ज्वरो चढेका दल र नेताहरुलाई आग्रह गर्छु, सिटामल खानुहोस् पानीपट्टी लगाएर ज्वर कम गर्नुहोस’ । उनले माघ ५ गते दाहालसँग राम्रो कुरा भएको सम्झदै भने,‘तर, पछि अर्कै तयारी भएछ, माइकले छातीमा हानेपछि पो थाहा पाएर छक्क परें ।’ सहमतिको कुरा गर्ने हो भने आवेश र उत्तेजना छाडी सहमति र वार्तामा आउन ओलीले सुझाव दिए । ‘मैले यसो भन्दा सोच्लान् ओली साइजमा आएछु’ उनले भने । उनले एमाओवादी नेतृत्वको मार्चाालाई सहमति र सहकार्यको बाटो छोडी दुःखको बाटो नहिँड्न पनि आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्