नेभिगेशन
अन्य

मोर्चाद्धारा सत्तारुढ र सभाध्यक्षसँगको वार्ता बहिष्कार

काठमाडौं । अवरोध छिचोल्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति निर्माण गरि प्रक्रिया अगाडि बढाएपछि एमाओवादी नेतृत्वको मोर्चामा रहेको १९ दल सत्तारुढ दल र संविधानसभा अध्यक्षका बिरुद्धमा उत्रिएका छन् । सभाध्यक्षले संविधानसभा बैठकमा प्रश्नावली समिति निर्माणको प्रस्ताव पेस गर्दै समितिमा रहने सभासदहरुको नाम सुनाएलगत्तै सिंहदरवार पुगेका विपक्षीले सत्तारुढ दल सभाध्यक्षविरुद्ध उत्रिने निर्णय गरेका हुन् । संविधानसभाभित्रका १९ दलको संघीय लोकतान्त्रिक गठबन्धनले सत्तारुढ दल सभाध्यक्षसँग वार्तासमेत नगर्ने निर्णय गरेका छन् । ‘सरकार, सत्तारुढ पार्टीहरु र संविधानसभाका अध्यक्षले आइतवारको कदमलाई सच्याउने र सहमतिका आधारमा संविधान बनाउने सुनिश्चित बनाउने वातावरण निर्माण नगर्दासम्म वार्तामा नबस्ने, सभाध्यक्षलाई कुनै काममा सहयोग नगर्ने निर्णय भएको छ,’ मोर्चाका संयोजक एंव एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने–‘ हामी कुनैपनि प्रक्रियामा संलग्न पनि हुदैनौ ।’ गठबन्धनको निर्णयपछि विपक्षी दलले आइतबार साँझ नै कालोझण्डा प्रदर्शन र सभाध्यक्षविरुद्ध प्रतिकात्मक प्रदर्शन गरेका छन् । दाहालले सभाध्यक्षले संविधानसभा बैठक बोलाए पनि नजाने बताए । उनले भने–‘तत्काल जनतासँग राय सल्लाह नलिइकन उहाले बोलाउँदैमा जादैनौं ।’ मोर्चाले संविधानसभा अध्यक्षले पदिय तटस्थता र गरिमालाई बिर्सेर कांग्रेस–एमालेको मामुली कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाएको छ । ‘संविधानसभाका अध्यक्षले अध्यक्षको तटस्थता, गरिमा, ओज र सम्मानलाई लत्याएर कांग्रेस–एमालेको कार्यकर्ता जस्तै भएर संविधानसभाको इतिहासमा जुन एउटा प्रतिगामी र अलोकतान्त्रिक कुकृत्य गर्नुभएको छ,’ गठबन्धनको विज्ञप्तीमा भनिएको छ,‘ त्यो देशलाई द्वन्द्व र मुठभेडको दिशामा धकेल्न सत्ताधारीहरुको नीहित स्वार्थ एवं योजना अनुसार भएको हाम्रो ठहर छ ।’ संविधानसभा अध्यक्षको कदमले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह, थारुलगायत आदिवासी जनजातिहरु र अन्य जाति क्षेत्रहरुको आन्दोलन र उनीहरुसँग भएको सम्झौताको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख छ । मोर्चाको बैठकले संविधानसभा अध्यक्षको कदमले १२ बुँदे समझदारीदेखिका सहयात्रीका बीचमा गम्भीर विश्वासको संकट तथा दूरी उत्पन्न भएको ठहर गरेको छ । उसले संविधानसभाको औचित्यमाथि प्रश्न चिन्ह खडा गरेको जनाएको छ । मोर्चाले बहुमतीय प्रक्रियाले अग्रगामी परिवर्तनका मुख्य विषयहरुमा सहमति कायम गर्न नसक्ने र यसले राष्ट्रिय राजनीतिमा गम्भीर ध्रुविकरण गर्ने निष्कर्ष निकालेको छ । ‘प्रकारान्तरले संविधानसभालाई निरर्थक बनाउने र देशलाई पुनः नयाँ द्वन्द्व र मुठभेडमा लैजाने गम्भीर खतरा उत्पन्न भएको छ,’ मोर्चाले भनेको छ । गठबन्धनले बहुमतीय प्रक्रियामा सहभागीसमेत नहुने निर्णय गरेको छ । ‘हामी आन्दोलनकारी शान्ति सम्झौता र विभिन्न सम्झौताका पक्षधरहरुको सहमतिबिनाको यस प्रकारको बहुमतीय प्रक्रियामा सहभागी हुन नसक्ने अडान दृडताका साथ सार्वजनिक गर्न चाहन्छौं,’ मोर्चाको बैठकपनि जारी विज्ञप्तीमा उल्लेख छ । गठबन्धनले संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्ने कदम अग्रगामी र परिवर्तनकारी शक्तिहरुलाई ठूलो चुनौति भएको जनाउदै जनतासित मिलेर प्रतिवाद गर्ने चेतावनी दिएको छ । विपक्षी मोर्चाले आगामी आन्दोलनका कार्यक्रम बनाउन सोमबार ३० दलीय मोर्चाको बैठक आहृवान गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै