पुस्तान्तरण अर्थात् एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणको प्रक्रिया । संसारको सर्वश्रेष्ठ जीवित प्राणी हामी मानवजाति जसको औसत आयु हाल करिब ७३ वर्ष मात्र रहेको छ । यति छोटो समयमा एक व्यक्तिले आफ्नो जीवनभर आर्जन गरेको आफ्नो अनुभव , सीप र ज्ञान पक्कै पनि आफैबाट लामो समयसम्म चलायमान गराईराख्न सम्भव हुदैन । तसर्थ : एक पुस्ताले आर्जन गरेको ज्ञान ,सीप र अनुभव मात्र नभई संस्कृति, मूल्य र व्यवहार जब अर्को पुस्तालाई विभिन्न माध्यमबाट हस्तान्तरण गर्दछ , यसले समाजको निरन्तरता र पहिचान कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ । पुस्तान्तरणले नै हामी हाम्रो ज्ञान ,संस्कृति र पहिचानलाई जोगाईराख्न सक्छौं।
भनिन्छ " जहाँ बच्चाले जन्मेपछिको नौ वर्षसम्म बिताउँछ त्यहाँको जीवन नै त्यो मान्छेको वास्तविक व्यक्तित्व हो ।" साँच्चिकै एक व्यक्ति बालक, वयस्क हुँदै परिपक्क उमेरतर्फ लम्कदै गर्दा उसको भावनात्मक, मानसिक र सामाजिक व्यक्तित्वमा उसले बाल्यकालमा ग्रहण गरेका सभ्यता, संस्कृति ,शिक्षा र वातावरणले गतिलो प्रभाव पार्दछ अर्थात् बाल्यकालमा सिकेका र जानेका मूल्य र व्यवहार नै जीवनभरिकै व्यक्तित्व दर्शाउने आधार हुन् भन्दा फरक नपर्ला ।
पछिल्ला दिनहरूमा अवसर र स्वतन्त्रताको निमित्त मानव जातिको एक स्थानबाट अर्को स्थानमा बढ्दो बसाइसराइ केवल एउटै राष्ट्रभित्र मात्र सीमित नभई बदलिदो विश्व परिवेशसँगै एउटा राष्ट्रमा जन्मिएर अर्को राष्ट्रमा जीवनयापन गर्ने क्रम बढ्दो छ । अझ हाम्रो मुलुकको राजनैतिक परिवेश र अनिश्चित भविष्यले गर्दा दिनानुदिन विमानस्थलबाट स्थायी बसोबासकै मानसिकता बोकेर आफू जन्मेको राष्ट्र छोड्ने युवा पंक्तिको भिड बाक्लो छ । त्यसैले त आज संसारका जुनसुकै कुना काप्चामा पनि गौरवपूर्ण इतिहास रहेको सुन्दर राष्ट्र नेपालमा जन्मिएका नेपालीहरूले आफूलाई परिश्रम र इमान्दारीतामा अब्बल साबित गर्दै आफू र आफू पछाडिका पुस्ताका भविष्य निर्माण गर्नका लागि निरन्तर मेहनत गरिराखेको देखिन्छ । यसरी नेपालमा जन्मिएर लामो समय जीवनयापन गरेका नेपालीहरु संसारका कुना–कुनामा भविष्यको सपना बोकेर संघर्ष गर्दै गर्दा उनीहरुले केवल भौतिक शरीरलाई मात्र त्यहाँ उपस्थित गराएका छैनन् ,सँग – सँगै नेपाली मन, भावना, आवाज, अनुभव ,शैली र नेपालीपन पनि आफूसँगै पक्कै पनि लगेका छन् । हो त्यो अनुभव ,त्यो शैली सँगसँगै िभत्राएको नेपाली भाषा ,भावना मात्र होइन कि आफूभन्दा अगाडिका पुस्ताबाट आफूले आर्जन गरेका ज्ञान , संस्कार र संस्कृतिका कोसेलीहरु पनि त्यस स्थानमा जन्मिँदै, हुर्कदै गरेका आ–आफ्ना सन्ततिलाई प्रदान गर्नु सबै – सबैको अभिभावकीय ,सामाजिक र राष्ट्रिय जिम्मेवारी पनि हो ।
विगत करिब ९-१० वर्षदेखि अस्ट्रेलियामा आफ्नै दिन र दैनिकीमा दौडिरहेको म आफै पनि यहाँ जन्मेर हुर्कदै गरेका नानीबाबुहरुले नेपालबाट आउनुभएका आ–आफ्ना हजुरबा –हजुरआमाको माया , ममता र बात्सल्यता साटासाट गर्ने मौका मात्र नभई यहाँ नै स्थायी बसोबास गरिरहनु भएका नेपाली समुदायका जिम्मेवार व्यक्तिहरुले सामाजिक जिम्मेवारी बहन गर्दै स –साना नानी बाबुहरुलाई हप्ताको केही घण्टा नै मात्र भएतापनि नेपाली भाषा ,चाडपर्व ,रहनसहनसँग परिचित गराउनको निमित्त विभिन्न स्थानमा नेपाली पाठशालाहरू चलायमान गराइराख्नुभएको देख्दा गर्व लाग्छ । विदेशी भूमिमै जन्मेर हुर्कदै गरेका नानीबाबुहरूले आर्जन गर्ने ज्ञान नेपाल र नेपाली संस्कृतिको जगेर्ना हो भन्ने लाग्दछ र यसको निमित्त नेपालमै जन्मे हुर्केर अर्को फरक मुलुकमा कर्म गरिरहेका सम्पूर्ण हामीहरुले यस्ता असल कायॅहरूलाइॅ के – कसरी योगदान गर्न सकिन्छ यसको निमित्त हातेमालो गर्दै हाम्रो संस्कृति र भावनालाई जगेर्ना गरिराख्नु पर्दछ भन्ने लाग्दछ ।
तसर्थ पुस्तान्तरण हाम्रो पहिचान ,अस्तित्व र चिनारीलाई निरन्तरता दिँदै यसलाई पछिल्ला पीढी सम्म पनि जारी राख्न आवश्यक रहन्छ । यसले हाम्रो रितिरिवाज ,संस्कृति , चाडपर्व जोगाइ राख्न मात्र होइन भविष्यको पुस्तालाई ज्ञान र सन्देश प्रदान गर्दै संसारभर आफ्नो परिचय स्थापित गर्दै अन्य चुनौतीहरु पनि सामना गर्न सक्ने क्षमताको विकास गर्दछ । पुस्तान्तरणले नै इतिहास , वर्तमान र भविष्यलाई एउटै मालामा बुन्दै फरक – फरक पुस्ताको भावना र विचारलाई साझा पुल मान्दै निरन्तर अगाडि बढिराख्न अभिप्रेरित गर्दछ ।
(पंङ्तिकार डब्बो नेपाली समाजसँग आबद्द छन् )