क्यानबेरा । कान्स अवार्ड विजेता नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको संघीय संसद् भवनमा प्रदर्शन हुने भएको छ। आगामी अक्टोबर २६ मा क्यानबेरास्थित पार्लियामेन्ट हाउसको थिएटरमा चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो। आयोजकका अनुसार, अस्ट्रेलियाको संसद् भवनमा प्रदर्शन हुन लागेको यो पहिलो नेपाली चलचित्र हो।
अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुने प्रदर्शनमा क्यानबेरास्थित नेपाली दूतावास र फेडरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को सहकार्य रहनेछ। कार्यक्रमको व्यवस्थापन स्पिडविङ्स ग्रुप अस्ट्रेलियाले गर्नेछ।
स्पिडविङ्स ग्रुपकी प्रमुख कार्यकारी अधिकृत शान्ति ढकालका अनुसार, चलचित्र प्रदर्शनको उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्नु, मानवीय सेवाका लागि सहयोग जुटाउनु र नेपाल–अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु हो।
विशेष प्रदर्शनमा अस्ट्रेलियाली सांसद, विभिन्न देशका कूटनीतिज्ञ, नेपाली समुदायका प्रतिनिधि, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्वको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा नेपालको प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि सहयोग संकलन गरिनेछ। त्यसका लागि कार्यक्रमस्थलमा क्यूआर कोड राखिनेछ, जसबाट सहभागीले इच्छाअनुसार आर्थिक सहयोग गर्न सक्नेछन्।
क्यानबेरामा विशेष प्रदर्शनपछि नोभेम्बरमा अस्ट्रेलियाका अन्य प्रमुख सहरमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ। यसबाट नेपाली चलचित्रलाई थप दर्शकमाझ पुर्याउनुका साथै मानवीय सहयोग अभियानलाई विस्तार गर्ने लक्ष्य राखिएको छ।
अभिनाशविक्रम शाहको निर्देशनमा बनेको ‘एलिफेन्ट इन द फग’ को संसद् भवनमा हुने प्रदर्शनलाई अस्ट्रेलियामा नेपाली कला, संस्कृति र सिर्जनात्मक पहिचानको प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।