सिड्नी। अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल सिड्नी २०२६ आगामी नोभेम्बर ७ मा हुने भएको छ। ‘पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ (Rebuild Nepal and Promote Tourism) भन्ने मूल नारासहित नेपाली कला, संस्कृति, परम्परा र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फेस्टिभल २०२६ आयोजना हुँदैछ।
सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने महोत्सवमा लोकप्रिय नेपाली गायक तथा कलाकार प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत एनआरएनए एससीसी एनएसडब्ल्यूले आयोजना गर्ने महोत्सवमा अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्वका प्रतिनिधि, नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवको मुख्य प्रायोजक मार्को होम्स रहेको छ।
नेपाली कला, संगीत, नृत्य, भेषभूषा र खानपानमार्फत नेपालको सांस्कृतिक विविधता प्रस्तुत गरिने महोत्सवले नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै अस्ट्रेलियाली समाजसँगको सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवले नेपालको हिमाली सौन्दर्य, ऐतिहासिक सम्पदा, जातीय विविधता, कला र मौलिक परम्परालाई अस्ट्रेलियाली समाजमाझ चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले नेपाल र अस्ट्रेलियाबीच सांस्कृतिक सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा छ।
नेपाल फेस्टिभलको सुरुवात सन् २००६ मा सिड्नीबाट भएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यो महोत्सव अहिले अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा समेत विस्तार भएको छ। २०२६ को सिड्नीमा हुने नेपाल फेस्टिवल ११ औ सस्करण हो ।
प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ। नेपालको पर्यटन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अवसरका रूपमा पनि यसलाई लिइन्छ।
नेपाली जनजीवन र सामाजिक विषयवस्तुलाई गीतसंगीतमार्फत प्रस्तुत गर्दै लोकप्रियता कमाएका प्रकाश सपुतको सांगीतिक प्रस्तुतिले महोत्सवको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
नेपाली गीतसंगीतसँगै सांस्कृतिक नृत्य, मौलिक भेषभूषा र खानाका परिकारले महोत्सवलाई नेपाली संस्कृतिको साझा उत्सवका रूपमा प्रस्तुत गर्नेछन्। विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग नजिक बनाउने अवसरका रूपमा पनि कार्यक्रमलाई हेरिएको छ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल फेस्टिभललाई नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय गौरव अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।
विदेशमा नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा त्यसको महत्त्व हस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ। महोत्सवले नेपाली समुदायलाई एउटै मञ्चमा जोड्नुका साथै अस्ट्रेलियाली समाजसँगको सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने कुँवरले बताए।
उनले सिड्नीमा आयोजना हुने महोत्सवलाई सफल बनाउन नेपाली समुदायका सबै सदस्यलाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।
एनआरएनए एनएसडब्ल्यूकी राज्य संयोजक उषा किरण बरिया पोखरेलले नेपाल फेस्टिभलले नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
अस्ट्रेलियामा जन्मेहुर्केका बालबालिका तथा युवालाई आफ्नो सांस्कृतिक पहिचानसँग परिचित गराउन यस्ता महोत्सव उपयोगी हुने उनको भनाइ छ। परिवारसहित सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा नयाँ पुस्ताले नेपाली संगीत, नृत्य, भेषभूषा र परम्परालाई नजिकबाट अनुभव गर्न सक्ने पोखरेलले बताइन्।
उनले नेपाली समुदायका महिला, युवा, अभिभावक तथा विभिन्न संघसंस्थालाई महोत्सवमा सहभागी भई नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान दिन आग्रह गरिन्।
एनआरएनए एससीसी एनएसडब्ल्यूका सचिव प्रताप पन्थीले नेपाल फेस्टिभललाई सफल बनाउन आयोजक, प्रायोजक, कलाकार, स्वयंसेवक, विभिन्न संघसंस्था र नेपाली समुदायका सदस्यबीच सहकार्य आवश्यक रहेको बताए।
नेपाल फेस्टिभल सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएको उल्लेख गर्दै उनले महोत्सवको सफलताका लागि सबै पक्षको सहयोग र सहभागिता महत्त्वपूर्ण हुने बताए।
आयोजकले सिड्नी, न्यु साउथ वेल्स तथा अस्ट्रेलियाका अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीलाई परिवार र साथीभाइसँगै महोत्सवमा सहभागी हुन आग्रह गरेका छन्। अस्ट्रेलियाली नागरिक तथा अन्य समुदायका मानिसलाई पनि नेपाली संस्कृति नजिकबाट अनुभव गर्न कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ।
(null) (null) (null) (null)