नेभिगेशन
बिचार/ब्लग

`जंगबहादुर इन युरोप ’  नेपाल चिनाउने  ऐतिहासिक पुस्तक

 

सुरेश सुवेदी 

`जंगबहादुर इन युरोप ’  नेपाल चिनाउने  ऐतिहासिक पुस्तक १८५०-५१ मा जंग बहादुरको युरोप भ्रमण नेपालको इतिहासकै एक कोसेढुंगो मानिन्छ । भारतीय शासक राजा राममाेहन राय तथ द्वाराका नाथकाे भन्दा पनि बढी चर्चा र स्वागत जंगबहादुरकाे भएकाे इतिहासकार  जोन व्हेल्पटनको टिप्पणी छ । पुस्तक "जंग बहादुर इन युरोप: द फर्स्ट नेपालीज मिसन टु द वेस्ट" को पेज १३१ पछि पुस्तकमा यसै भ्रमणका रोचक प्रसंगहरू समेटिएका छन्। पुस्तककाे अग्र भागमा भने नेपालकै कन्ट्री प्राेफाइल समेटिएको छ । बिशेष त रक्तरंजित शक्ति परिवर्तन । 
पुस्तककाे माेटाइ बढ्नुमा  त्यतिबेला भ्रमण बारे भएकाे `न्युजपेपर कभरेज´ पनि हाे । जुन पूर्णरूपमा  समावेश गरिएकाे छ । पेज नम्बर १९५ देखि २७५ सम्म तत्कालीन बेलायती, फ्रान्सेली तथा भारतीय पत्रिकामा छापिएका अधिकांश समाचार सामग्री समावेश  छन् । नेपालमा शिक्षण कार्यमा रहेका जाेनले इतिहासकार पुरुषाेत्म शमशेर तथा कुटनैतिक व्याक्तित्व ऋषिकेश शाहकाे सक्रियतामा उक्त पुस्तक तयार पारेकाे उल्लेख छ । 
 पुस्तक मा उल्लेखित प्रसंगहरूमा जात जोगाउने कठोर परिश्रम, अंग्रेजी समाजमा मिसिने क्रममा भएको सांस्कृतिक साश्ती र पश्चिमा सभ्यताप्रति जंग बहादुरको मोह गाथा छ। 

जंग बहादुरको युरोप यात्राः कालापानी पार गरेको पहिलो नेपाली मिसन

 नेपालको शासन सत्तामा जंग बहादुर राणाकाे एकाधिकार स्थापित भएको चार वर्ष बितिसकेको थियो। यसै सन्र्दभमा, उनले एउटा त्यस्तो साहसिक कदम चाले, जसले नेपालको इतिहासलाई नै नयाँ दिशा दियो—युरोप भ्रमण। 'कालापानी' पार गरेर जानु हिन्दू धर्मावलम्बीका लागि निषेध मानिन्थ्यो, तर राजनीतिक चेत, सैन्य शक्तिको जाँच र अन्तर्राष्ट्रिय कूटनीतिको नयाँ आयाम खोज्ने सोचले जंग बहादुरलाई यस यात्रामा प्रेरित गरेको थियो।` यो भ्रमण नेपालको इतिहासमै पहिलो आधिकारिक पश्चिमा मिसन थियो र जंग बहादुर त्यसो गर्ने दक्षिण एशियाकै पहिलो उच्च पदस्थ शासक बने´ जाेनले आफ्नो पुस्तकमा लेखेका छन् । 

यस लेखमा जोन व्हेल्पटनद्वारा लेखिएको  पुस्तक 'जंग बहादुर इन युरोप' मा उल्लिखित केही रोचक प्रसंगहरू, विशेषगरि जातीय आस्था र पश्चिमा जीवनशैलीबीचको द्वन्द्व, सांस्कृतिक भिडन्त र युरोपप्रति जंग बहादुरको मोहलाई उजागर गर्ने प्रयास गरिएको छ।

जातको बन्धन र समुद्री यात्रा

हिन्दू धर्मशास्त्रअनुसार 'समुद्रयात्रा' वर्जित मानिन्थ्यो। विदेशी भूमि ('म्लेच्छ देश') जानु र त्यहाँका मानिससँग सहभोजन गर्नु जात जाने डर हुन्थ्यो । यसैले जंग बहादुर र उनको टोली (जसमा उनका भाइ जगत शमशेर र धीर शमशेर, साथै करिब ४० जना सहयोगी थिए । उनीहरू का लागि जात जोगाउनु ठूलो चुनौती थियो ।

· जहाजमा 'चोका' प्रणाली: कलकत्ताबाट युरोप जाने क्रममा जंग बहादुरले जहाजमै पूरा हिन्दू शैलीको 'चोका' (भान्सा) बनाउने व्यवस्था मिलाए। उनी खाना पकाउँदा र खाँदा धाेती लगाउने गर्थे, ताकि कसैको नजर नपरोस् र छोइन नपराेस भन्नेमा सचेत देखिन्छन्  । बिटुलाे हुनबाट बचियोस्। काँचो खानेकुरा मात्र गैर-हिन्दूको हातको स्पर्श हुन सक्थ्यो ।
· गाईको हत्या प्रकरण: भूमध्यसागर पार गर्दा जंग बहादुरलाई थाहा भयो कि जहाजमा रहेका केही गाईहरू अंग्रेज यात्रीहरूका लागि मारिन्छन्। गाईको हत्या देख्न नसक्ने उनले तत्काल आपत्ति जनाए। उनले कप्तानलाई यदि यो रोकिएन भने म अर्कै जहाजमा यात्रा गर्ने चेतावनी दिए। अन्ततः कप्तानले गाईको हत्या गोप्य रूपमा र नेपाली टोलीबाट लुकाएर मात्र गर्ने सहमति जनाएपछि मात्र यो विवाद शान्त भएको थियो ।
· भेडाको पुच्छर प्रकरण: अर्को रोचक घटना तब भयो जब नेपाली टोलीले खानका लागि ल्याइएका युरोपेली भेडाको पुच्छर लामो भएको देखे। उनीहरूका अनुसार लामो पुच्छर भएको भेडा खान हुँदैनथ्यो। समस्या समाधान गर्न जहाजका कर्मचारीले एउटा भेडाको पुच्छर काटेर 'छाेटाे पुच्छर' बनाइदिए। तर जंग बहादुरको टोलीमा रहेका एक पुराना काजी (कर्बीर खत्री) जो मांसाहार नगर्ने व्रतमा थिए, उनले भेडा राम्ररी नियाल्दा त्यसको पुच्छर काटिएको थाहा पाए। यसले ठूलो हल्ला भयो र ती भेडा फिर्ता पठाइयो। यसले देखाउँछ कि नेपाली टोलीले जातीय आस्थालाई कति कडाइका साथ पालना गरेका थिए ।

२. बेलायतमा स्वागत र सांस्कृतिक भिडन्त

१८५० को मे २६ मा जंग बहादुर लन्डन आइपुगे। उनलाई प्रधानमन्त्री लर्ड जन रसेल र अन्य उच्च अधिकारीहरूले स्वागत गरे। उनको बास रिचमन्ड टेरेसमा रहेको थियो । बेलायती समाज र सञ्चार जगतले यस 'पूर्वीय राजकुमार'को भव्यता देखेर आश्चर्यचकित भएको थियो ।

· रानी भिक्टोरियासँग भेट: जुन १९ मा सेन्ट जेम्स दरबारमा रानी भिक्टोरियासँग भव्य भेटवार्ता भयो। नेपाली राजा सुरेन्द्र विक्रम शाहको पत्र र कोशी नदीको एउटा सुनको माछा (गोल्ड फिस) उनले रानीलाई उपहार दिएका थिए। रानीले पनि उनलाई आफ्नो राज्याभिषेकको दिवसको भोजमा निम्त्याइन् । जंग बहादुर र रानीबीचको सम्बन्ध हार्दिक देखिन्थ्यो। रानीले उनलाई आफ्नो निजी थिएटर र ओपेरामा समेत निम्तो दिएकी थिइन् ।
· 'हिप्पोपोटामस' उपनाम: जंग बहादुरले लन्डनमा आफ्नो उदार खर्च र भड्किलो पोशाकले सबैको ध्यान खिचे। उनीमाथि प्रतिदिन १००० पाउण्डसम्म खर्च गरेको आरोप पनि लागेको थियो र एक स्थानीय पत्रिकाले उनलाई 'हिप्पोपोटामस' (दरियाई घोडा) को उपनाम दिएको थियो, जुन उनको आकार र भव्यताको सन्दर्भमा थियो । पुर्डे नामक बन्दूक पसलबाट मात्र उनले २३,३०० पाउण्ड (आजको करिब ४ करोड २० लाख रुपैयाँ) बराबरको बन्दूक र गोली खरिद गरेका थिए, जसले ब्रिटिस सैन्य प्रविधिप्रतिको उनको गहिरो चासो देखाउँछ ।
· 'डुकुलन्ठुन' (ड्युक अफ वेलिङ्टन) प्रकरण: युरोप यात्राको क्रममा जंग बहादुरले प्रसिद्ध बेलायती सेनापति ड्युक अफ वेलिङ्टनसँग भेटवार्ता गरेका थिए। तर उनलाई यो अनुभव त्यति रोचक लागेन। यति मात्र होइन, भेटपछि उनले ड्युकको नाम नै बिगारेर हाँसोठट्टा गरेको इतिहासकारहरू बताउँछन्। भनिन्छ, ड्युक अफ वेलिङ्टनको उच्चारण गर्दा उनले 'डुक-उलान-थान' भनेका थिए, जसको अर्थ नेपाली ग्रामीण भाषामा 'मुर्खको समूह' हुन जान्छ। यो शब्द पछि नेपाली समाजमा मूर्ख वा ठग व्यक्तिलाई संकेत गर्न 'डुकुलन्ठुन' भनेर प्रचलित भयो भनेर  पनि पुस्तकमा लेखिएको छ ।
· अंग्रेजी महिलाको स्पर्श: जंग बहादुर भिक्टोरियन लन्डनको एक आकर्षण थिए। एक पटक भक्सहल गार्डेनमा उनको पोशाक र गहनाको आकर्षण यति बढ्यो कि महिलाहरूले उनलाई घेरेर छुन खोजे। हिन्दू परम्पराअनुसार यो छोइनहुनु (पोल्युसन) को सबैभन्दा ठूलो डर थियो। उनी भाग्न खोजे तर भीडले उनलाई घेरिरह्यो पुस्तकमा उल्लेख छ। 

३. फ्रान्स यात्रा र नेपाल फिर्ती

अगष्ट १५, १८५० मा जंग बहादुरले फ्रान्सको यात्रा गरे। त्यहाँ उनले राष्ट्रपति लुई नेपोलियन (पछि सम्राट नेपोलियन तृतीय) सँग कानुनी बिषयमा सहयोग लिए । यसैकाे प्रभावमा नेपालको पहिलो कानुन मुलुकी ऐन १९१० जारी  गरियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्