सिड्नी ।
सिड्नीस्थित ह्यारिसपार्कमा अस्ट्रेलियामै पहिलो पटक 'फायर मःमः' पाइने रेस्टुरेन्ट सञ्चालनमा आएको छ।
करिब १५ थरीका मःमः पाइने 'नेपाली मःमः' नामक रेस्टुरेन्टको एक कार्यक्रमबीच सिड्नीका लागि महावाणिज्यदूत सञ्जिव कुमार शर्माले उद्घाटन गरे।
मःमःका अतिरिक्त यहाँ थकाली खाना तथा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अधिकांश खानाका परिकार एकै थलोमा पाइन्छ।
नेपाली र भारतीयको बाक्लो उपस्थिति रहेको ह्यारिसपार्कमा बिहानैदेखि राति अबेरसम्म बसेर खानाको स्वाद लिन सकिने सञ्चालक कल्याण कँडेलले जानकारी दिए।

सञ्चालक कँडेलले अस्ट्रेलियामै पहिलोपटक आफूहरूले फायर मःमःको परिकार पस्किएको दाबी गरे। 'अस्ट्रेलियामा अधिकांश स्थानमा खुलेकका रेस्टुरेन्टमा मःमः पाइन्छ तर हाम्रोमा पाइने विभिन्न १५ थरिका मःमः मध्ये फायर मःमः अरूभन्दा फरक र स्वादिलो छ', उनले भने,'मःमः बाहेक हामीकहाँ सबैखाले नेपाली र भारतीय खानाका परिकारहरू पाइन्छ।'
उनले नेपाली ममलाई केवल एउटा रेस्टुरेन्ट मात्र बनाउने लक्ष्य नराखेको भन्दै अगाडि भने, 'हामी यस्तो स्थान बनाउन चाहन्थ्यौँ जहाँ मानिसहरू आराम गर्न सकून्, आपसमा जोडिन सकून्, र घरजस्तै अनुभूति दिने प्रामाणिक नेपाली परिकारको स्वाद लिन सकून्, सोही अनुसारको रेस्टुरेन्ट खोल्न सफल भयौ।'
उनले आफ्नो यात्रा एउटा साधारण सोचबाट सुरु भएको भन्दै नेपालमा हुर्कँदै खाएको खाना यहाँ अष्ट्रेलियामा आफ्नो समुदायसँग बाँड्न पाउनु आफूहरूको लागि गर्वको कुरा भएको बताए। 'गर्वका साथ नेपाली-अष्ट्रेलियन भएका नाताले खाना हाम्रो संस्कृतिमाथि गहिरोसँग जोडिएको छ, र ती प्रामाणिक स्वाद, सुगन्ध र सम्झनाहरू ह्यारिसपार्कमा ल्याउनु हामीलाई त्यो सम्बन्ध जीवित राख्ने सही तरिका जस्तो लाग्यो', उनले थप स्पस्ट पारे।
एकै पटकमा ५० जनालाई सेवा दिनसक्ने क्षमताको रेस्टुरेन्टमा विभिन्न सानोतिनो पार्टी सेमिनार तथा गोस्ठीको लागि छुट्टै कोठा बनाइएको उनले बताए।
यस्तै रेस्टुरेन्टमा हरेक शुक्रबार, शनिबार र आइतबार सांगीतक प्रस्तुतिसमेत रहने छ।

