नेभिगेशन
न्यू साउथ वेल्स

स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न

सिड्नी ।  दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW टिमले समुदाय स्वास्थ्य, कल्याण तथा सामाजिक सचेतनासम्बन्धी कार्यक्रम शनिबार ग्रान्भिल टाउन हलमा सम्पन्न गरेको छ। नेपाली समुदायमा कमै छलफल हुने तर व्यक्ति, परिवार र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई केन्द्रमा राखिएको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।IMG_7244-1790631095.jpeg

कार्यक्रममा स्वास्थ्य, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, अभिभावकत्व, किशोरकिशोरीका चुनौती, लैङ्गिक हिंसा रोकथाम तथा उपलब्ध सेवामा पहुँचलगायत विषयमा छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभव र समुदायमा देखिएका चुनौतीबारे खुलेर धारणा राखेका थिए।

कार्यक्रममा DWNA-NSW की निर्देशक डा. झरना भट्टराईले सन् २०१२ मा मेलबर्नबाट सुरु भएको DWNA ले महिला सशक्तीकरण, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा रोकथाम तथा समुदाय कल्याणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताइन्। बदलिँदो सामुदायिक आवश्यकतालाई सम्बोधन गर्न नयाँ कार्यक्रम र साझेदारी अघि बढाइने उनले बताइन्।

DWNA-NSW की टिम लिडर प्रतिज्ञा अधिकारीले अष्ट्रेलियामा नयाँ जीवन सुरु गरेका नेपाली परिवारले अभिभावकत्व, किशोरकिशोरीका समस्या, पारिवारिक सम्बन्ध, एक्लोपन तथा मानसिक स्वास्थ्यसँग जोडिएका चुनौती सामना गरिरहेको बताइन्। उपलब्ध सेवा र सहयोगबारे समुदायलाई जानकारी गराउनु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो।IMG_7245-1790631120.jpeg

‘समुदाय भनेको आवश्यक पर्दा एकअर्कालाई सम्झने, सुन्ने, साथ दिने र सही सेवासम्म जोड्ने सम्बन्ध हो,’ अधिकारीले भनिन्, ‘हजुर एक्लै हुनुहुन्न भन्ने भावना समुदायमा स्थापित गर्न आवश्यक छ।’

कार्यक्रममा ग्रान्भिलकी राज्य सांसद जुलिया फिनले DWNA ले समुदाय स्वास्थ्य र सामाजिक एकताका क्षेत्रमा गरेको कामको प्रशंसा गरिन्। कम्बरल्यान्ड सिटी काउन्सिलका काउन्सिलर ग्लेन एलमोरले स्थानीय सरकार र बहुसांस्कृतिक समुदायबीच सहकार्यको महत्व बताए।

ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल, अस्ट्रेलियन नेपालीज जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी तथा एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले पनि समुदायमा सचेतना, सही सूचना र सहकार्यको आवश्यकता औँल्याए।  समुदायमा  सचेतनामुलक  मुलक  कार्यक्रम  गरेकोमा आयोजकलाई धन्यवाद  दिए ।  

कार्यक्रममा NSW Health, Neami National, Brahma Kumaris Australia, Greater Sydney Nepalese Multicultural Centre, Shabdamala Nepali Community Language School, ANPHA, Blacktown Nepalese Community, Australian  Nepalese Journalist   Association  (ANJA)  लगायतले सहकार्य गरेका थिए।

कार्यशालाको सहजीकरण प्रतिज्ञा अधिकारीले गरेकी थिइन्। विभिन्न सत्रमा सोरा मथिडा, अनिता श्रेष्ठ, महेन्द्र लम्साल, रेबेका लोयड, बिमला ढकाल, नाओमी, सौरभ श्रेष्ठ तथा संस्कृति श्रेष्ठले सहजीकरण गरेका थिए।

कार्यक्रमपछि शब्दमाला विद्यार्थी समूहसहित अलिशा सापकोटा, इशा सापकोटा, निशा पन्थ, स्वर्ण श्रेष्ठ, सावित्री चालिसे गौतम, सुमिना थापालिया, सङ्गीता खनाल घिमिरे, सुष्मिता दाहाल, उमा श्रेष्ठ र श्रिजना शर्माले सांस्कृतिक प्रस्तुति दिएका थिए। स्थानीय कलाकार जेनिशा गौतम र सदा श्रेष्ठले सांगीतिक प्रस्तुति दिए।

DWNA-NSW का टिम सदस्यहरू डा. मधु अधिकारी, विद्या राई र सिर्जना शर्माले सञ्चालन गरेको कार्यक्रमले समुदायमा आपसी सहयोग, सूचना र विश्वासको सम्बन्ध अझ बलियो बनाउनुपर्ने सन्देश दिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्