नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा मानवसेवा आश्रमको मानवीय अभियान : ३ अक्टोबरमा ‘Meet & Greet’

सिड्नी ।  नेपालमा सडकमा जीवन बिताउन बाध्य, बेसहारा तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूको उद्धार, उपचार, परिवार पुनर्मिलन र पुनर्स्थापनामा सक्रिय मानवसेवा आश्रमले आफ्नो मानवीय अभियान अष्ट्रेलियाको नेपाली समुदायमाझ प्रस्तुत गर्ने भएको छ।

मानवसेवा अष्ट्रेलिया सिड्नीको आयोजनामा ३ अक्टोबर २०२६, शनिबार Auburnस्थित Grand Palace Functions Centreमा ‘Connect Australia Through Humanity – Meet & Greet’ कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा मानवसेवा आश्रम नेपालका संस्थापक तथा अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

मानवसेवा आश्रमका सस्थापक  तथा  अध्यक्ष  रामजी  अधिकारीका  अनुसार हाल ७ प्रदेशका २४ जिल्लामा ३५ वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन गरिरहेको छ। आश्रममा हाल २,४१८ जना आश्रित छन् भने अभियानमार्फत हालसम्म ६,०२८ परिवार पुनर्मिलन भएका छन्।
त्यस्तै, उपचार तथा संरक्षणपछि ४,३७६ जना स्वेच्छाले आश्रमबाट बाहिरिएर आफ्नै जीवनमा फर्किएका छन्। आश्रमको संरक्षण तथा सेवाका क्रममा १,८०४ जनाको निधन भएको तथ्यांकमा उल्लेख छ। समुदायमा पुनःस्थापना तथा पुनर्वासका लागि हालसम्म २,००० जनालाई सामुदायिक पुनर्स्थापना सेवा प्रदान गरिएको छ।

आश्रमका अनुसार हालसम्म प्रदान गरिएको कुल सेवा संख्या १४,२०७ पुगेको छ। मानवसेवा आश्रमले सडकमा सहयोगको आवश्यकता भएका व्यक्तिहरूको उद्धार र संरक्षणसँगै उपचार, परिवार खोजी तथा पुनर्मिलन, पुनर्स्थापना र पुनर्वासलाई अभियानको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ।

आश्रमको तथ्यांकअनुसार सडकमा आश्रित तथा सहयोग आवश्यक पर्ने मानिसहरूबाट मुक्त घोषणा गरिएका क्षेत्रमा ३ प्रदेश, २ महानगरपालिका, १२ नगरपालिका, ३ उपमहानगरपालिका, ३ जिल्ला र ३ गाउँपालिका समेटिएका छन्।

आश्रमले सेवा केन्द्र तथा सेवाग्राहीको संख्या समयअनुसार परिवर्तन हुने भएकाले तथ्यांक पनि निरन्तर अद्यावधिक हुँदै जाने जनाएको छ।

मानवसेवा अष्ट्रेलियका  अध्यक्ष त्रिलोचन पोखरेलका अनुसार नेपालमा सञ्चालन भइरहेको मानवीय अभियानलाई अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उनका अनुसार कार्यक्रम केवल भेटघाटमा सीमित नरही मानवीय सेवा, सामाजिक उत्तरदायित्व, समुदायको सहभागिता तथा नेपालमा भइरहेका सामाजिक अभियानबारे प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा अघि बढाइनेछ।

कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

मानवसेवा आश्रमले सडकमा जीवन बिताउन बाध्य तथा बेसहारा व्यक्तिहरूको उद्धारदेखि उपचार, संरक्षण, परिवारसँग पुनर्मिलन र समुदायमा पुनर्स्थापनासम्मका क्षेत्रमा काम गर्दै आएको छ।

सिड्नीमा हुने ‘Meet & Greet’ मार्फत नेपालमा सञ्चालन भइरहेको यस अभियानबारे अष्ट्रेलियाको नेपाली समुदायलाई प्रत्यक्ष जानकारी गराउने तथा आगामी दिनमा मानवीय सेवाका क्षेत्रमा सहकार्य र सहभागिताका सम्भावना विस्तार गर्ने आयोजकको उद्देश्य छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्