पर्थ । पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा नेपाली कला, संस्कृति, संगीत, मौलिक परिकार तथा बहुसांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल महोत्सव पर्थ २०२६’ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा आगामी अक्टोबर १० शनिबार पर्थको वेलिङ्टन स्क्वायरमा महोत्सव आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सव सर्वसाधारणका लागि निःशुल्क तथा परिवारमैत्री हुनेछ।
महोत्सवमा नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, संगीत र खानाका परिकारसँगै नेपालका पर्यटकीय तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धन गरिनेछ। विशेषगरी अस्ट्रेलियामा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति र मौलिक परम्परासँग जोड्ने उद्देश्यसमेत महोत्सवको रहेको आयोजकले जनाएको छ।
एनआरएनए पश्चिम अस्ट्रेलियाका संयोजक हरिवंश (सुमन ) सञ्जेलले महोत्सवले नेपाली संस्कृति र परिकारको प्रवर्द्धनसँगै नेपालको पर्यटन क्षेत्रको प्रचारमा समेत योगदान पुर्याउने बताए। उनका अनुसार पर्थमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सम्बन्ध र भाइचारा थप मजबुत बनाउन पनि महोत्सवले भूमिका खेल्नेछ।
महोत्सवको सुरुवात नेपालका विभिन्न जातजाति, भाषा, संस्कृति र भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्ने सांस्कृतिक परेडबाट हुनेछ। यस वर्षको प्रमुख आकर्षणका रूपमा ‘नेपाल हाउस’ रहने आयोजकले जनाएको छ। नेपाल हाउसमा नेपाली हस्तकला, ऐतिहासिक सम्पदा तथा विभिन्न पर्यटकीय गन्तव्यसम्बन्धी प्रदर्शनी गरिनेछ।
सांगीतिक कार्यक्रमतर्फ चर्चित गायक प्रमोद खरेल, गायिका रचना रिमाल तथा ‘परम्परा ब्यान्ड’को प्रस्तुति रहनेछ। त्यस्तै नेवारी, तामाङ सेलो लगायत विभिन्न समुदायका लोक तथा सांस्कृतिक नृत्य र संगीत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महोत्सवमा नेपाली मौलिक परिकारका विभिन्न स्टलसमेत रहनेछन्। मःम, सेलरोटीलगायत नेपाली खानाका परिकारसँगै ‘नेपाली टी टेस्टिङ’ स्टल पनि राखिनेछ। नेपाली परम्परागत पोशाकको प्रदर्शनी तथा बालबालिकाका लागि मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ।
यस वर्ष नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका लागि विशेष कोष संकलन अभियान पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।
१५ हजार दर्शक आउने अपेक्षा
महोत्सव सफल बनाउन नेपाल एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया, पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रलगायत स्थानीय संघसंस्थाले सहकार्य गरेका छन्। कार्यक्रममा पश्चिम अस्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारी, अस्ट्रेलियाका विभिन्न राज्यका एनआरएनए प्रतिनिधि तथा सामाजिक अगुवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
हरेक दुई वर्षमा आयोजना हुँदै आएको नेपाल महोत्सवलाई पश्चिम अस्ट्रेलियामा नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्ने प्रमुख सामुदायिक उत्सवका रूपमा लिइन्छ। आयोजकका अनुसार यस वर्षको महोत्सवमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
एनआरएनए पश्चिम अस्ट्रेलियाले पर्थ तथा आसपासमा बसोबास गर्ने नेपालीसहित अस्ट्रेलियाली तथा अन्य समुदायलाई महोत्सवमा सहभागी भएर नेपाली कला, संस्कृति, संगीत, खानाका परिकार र आत्मीयताको अनुभव लिन आह्वान गरेको छ।