कृष्ण तिवारी नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना तथा एनआरएन एनएसडब्लु राज्य समिती तथा अस्ट्रेलियन सरकारको सहयोगमा सीड्नीमा नेप्लीज अस्ट्रेलियन बहुसंस्कृती एकता दिवस भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा अस्ट्रेलियाका बिभिन्न राजनितीक दलका नेताहरुको समेत महत्वपुर्ण उपस्थीती रहेको थियो । जसमा लिबरलका प्रभावशाली नेता मार्क कुरी तथा लेबरका एनएसडब्लुका प्रतिपक्ष नेता क्रिस मिन्स र पारामाटा क्षेत्रका संघिय सांसद डा एन्ड्रयु चाल्र्टनलगायतको उपस्थीतीले कार्यक्रम निकै प्रभावकारी बनेको थियो । उनिहरुले अस्ट्रेलियामा छाटो समयमा तिब्र बिस्तार भइरहेको नेपाली समुदायको उपस्थीती महत्वपुर्ण बन्दै आएको जिकिर गरे ।
पारामाटाका सांसद चाल्र्टनले नेपाली कलासंस्कृतीलाई नजिकवाट नियाल्न पाएकोमा खुसी प्रकट गरे । कार्यक्रममा अस्ट्रेलियाका लागि कार्यवाहक राजदुत कुल बहादुर मगरले अस्ट्रेलियामा आएर पनि नेपाली समुदायले आफ्नो कला संस्कृतीलाई जर्गेना गरिरहेकोमा आफु निकै प्रभावित भएको भन्दै यस्ता कार्यक्रमले मुलुकलाई पहिचान दिलाउन समेत महत्वपुर्ण भुमिका खेल्ने बताए ।
अस्ट्रेलिया जस्तो बुहसांस्कृतीक मुलकमा बसोबास गर्दै आएका हामी नेपालीहरुले यहा रहेका अन्य समुदायहरुसँंग एकअर्काको साझा मुल्य र मान्यतालाई सम्मान तथा साटासाट गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले बताए । नेपाली कला संस्कृतीका यस्ता खाले प्रस्तुती र सहभागिताले नया पुस्तालाई पनि जागरुक बनाउनुका साथै बहुसांस्कृतीक समुदायमा अलग पहिचान बनाउन समेत मद्दत पुग्ने खड्काले सुनाए । विविध संस्कृतीको धनी नेपाली समुदायको आफ्नै विविध कला, संस्कृतीलाई अस्ट्रेलियन भुमिमा पनि अन्य समुदायहरुले नजिकवाट नियाल्न पाउन भन्ने कार्यक्रमको मुख्य उद्देस्य रहेको आयोजक नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया अध्यक्ष सुजाता बस्नेतले बताइन । नेपालमा छरिएर रहेका विविध सांस्कृतीक कार्यक्रमसँंगै अन्य मुलुक भारत, चिन, ब्राजिल र कर्मथलो अस्ट्रेलियाको आदिवासीहरुको विविध कला संस्कृतीसँंग जोड्ने प्रयास स्वरुप पनि यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिइन ।
सीडनीको म्यारिकभिल टाउन हलमा सम्पन्न कार्यक्रममा करिब १५ वटा विविध नेपाली कला संस्कृती झल्काउने नृत्य तथा नाटक र अन्य मुलुकहरु जापान, चिन, श्रीलंका र ब्राजिल लगायत विविध मुलुकका विविध सांस्कृतीक कार्यक्रम समेत समेटिएको थियो । कार्यक्रममा नेपाली कला संस्कृती झल्काउने तमु, नेवारी, लाखे ,थकाली, किराँंत , मगर, लिम्बु लगायतको नेपाली पहिचान झल्कने नृत्य समेटिएको थियो ।
कार्यक्रम आयोजनाको लागि नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियालाइ मल्टीकल्चर एनएसडब्लुकोतर्फवाट दश हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग समेत रहेको कार्यक्रम संयोजक सीमा रोसीले जानकारी दिइन । कार्यक्रममा कार्यक्रम संयोजक रोसीलाई संस्थाकोतर्फवाट सम्मान समेत गरिएको थियो ।
बहुसांस्कृतीक समुदायमा अन्य समुदायको कला,संस्कृती बुझने मौका पाउनुका साथै अन्य समुदायसँंग सम्वन्ध बिस्तारको संभावना पनि बढने र यसले हाम्रो समाजको दायरा फराकिलो हुने बिश्वास लिएको कार्यक्रममा सहभागि गायक महेश प्रसाइ(म्याक्स)ले बताए ।
भानु जयन्ती , तिज कार्यक्रम र प्रवासी पाइलाजस्ता नेपाली कला संस्कृतीको पहिचानमुलक कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले आफुलाई एक कदम अगाडि सारेर मल्टीकल्चर एनएसडब्लुको आर्थिक सहयोगमा बहुसांस्कृतीक कार्यक्रम गर्नु आफैमा गौरवपुर्ण बिषय समेत भएको एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवालले बताए । कार्यक्रममा नेपाली समुदायका अगुवा इन्द्रा वन , नारायण प्रधान ,रमेश पाण्डे, एनआरएनका उपाध्यक्ष देब गुरुङ लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा नेपाली भाषा तथा कला संस्कृतीको जर्गेना गर्न महत्वपुर्ण योगदान गरेवापत नेपाली संचारकर्मीहरु हेमन्त काफ्ले , राजु मानन्धर, कृष्ण तिवारी, ऋषी आचार्य, सुजित सिग्देल,सुनिता पोखरेल,श्रेया राईलगायतलाई सम्मान गरिएको थियो ।
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।आइतबार, साउन २०, २०८१