नेभिगेशन
अन्य

उर्जामन्त्रालय रमिते बन्दा झण्डै ४० हजार बिद्युत उद्यपादन हुने खोला अझै झोलामा

काठमाडौं । नेपालको जलविद्युत् आयोजनाको क्षमता सरकारी धारणाअनुसार ८४ हजार मेगावाट हो । हरिमान प्रधानले जलविद्युतमै शोध गर्दा निकालेको सो तथ्याङ्कलाई सरकारले हालसम्म आधिकारिक तथ्याङकका रुपमा आधार मान्दै आएको छ । तर विश्वमा आएको प्रविधिको विकाससँगै नेपालको कुल जलविद्युत क्षमता करिब दुई लाख मेगावाटको रहेको छ । सरकारले नै आधिकारिक मान्दै आएको तथ्याङकलाई नै मान्ने हो भने पनि सर्वेक्षण, उत्पादन अनुमति पत्र लिएका आयोजनाको कुल क्षमता हेर्ने हो भने चालिस हजार मेगावाटको हाराहारीमा रहेको छ । प्राविधिक रुपमा सबल र सक्षम मानिएका आयोजनाको क्षमता करिब ५० हजार मेगावाटको हाराहारीमा मात्रै रहेको छ । तर ऊर्जा मन्त्रालयले पैसा र शक्तिको आडमा काम नगर्ने आयोजनाका प्रवद्र्धकलाई नेपालको सबै खोलाको अनुमति पत्र विद्युत् आयोजनाको नाममा बाँडेको छ । त्यसमा भारतीय कम्पनीको बोलबाला ठूला र आर्कषक आयोजनामा बढ्ता देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले नै निर्माण गर्न सक्ने, सस्ता र सहज आयोजनालाई कौडीको भाउमा भारतीय कम्पनीलाई दिइएको छ । पछिल्लो पटक लगानी बोर्डले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना त सरकारी रुपमै भारतीय कम्पनीको पोल्टामा परिसकेको छ भने बाँकी रहेका अन्य आर्कषक आयोजना समेत भारतीय कम्पनीको पोल्टामा नै रहेको छ । निर्माण गर्न सहज र लगानीमा समेत आर्कषक मानिएका आयोजना विदेशीलाई सुम्पेर नेपालको जलविद्युतको विकास गर्ने भन्ने कुरा हवाई कल्पना भन्दा बढी केही हुन सक्दैन । माथिल्लो कर्णाली र अरुण तेस्रोको क्षमता नौ÷नौ सय मेगावाट रहेका छन् । ती आयोजना भारतीय कम्पनी जिएमआरले लिइसकेको छ । ठूला र आर्कषक आयोजना भारतीयको कब्जामा यस्तै सोलुखुम्बुमा आयोजना स्थल रहेको दूधकोशी दोस्रो आयोजना पनि दुधकोशी हाइड्रोको नाममा भारतीय कम्पनीलाई जिम्मा दिइएको छ । यस्तै दूधकोशीकै अर्को आयोजना दुधकोशी चार पनि इन्डिया एन्फ्रा भेन्चरलाई जिम्मा दिइएको छ । सो आयोजनाको क्षमता ३५० मेगावाट रहेको छ । माथिल्लो त्रिशुली दोस्रो आयोजना हाइड्रो चाइना कर्पोरेसनले निर्माण गर्ने भनेर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागबाट सर्वेक्षणको अनुमति पत्र लिएको छ । हाकु रसुवामा आयोजना स्थल रहेको सो आयोजनाको काम कहिले सुरु हुने हो त्यसबारेमा न त ऊर्जा मन्त्रालय जानकार छ, नत प्रवद्र्धक नै । १२१ मेगावाट क्षमताको ठूली भेरीको सर्वेक्षणको अनुमतिपत्र गेग नेपालले लिएको छ । जाजरकोटमा आयोजना बनाउने भनेर ठूलो हल्ला गरिएपनि हालसम्म सो आयोजनाको प्रगति कति भयो भन्ने बारेमा कोही पनि जानकार रहेका छैनन । रसुवा भोटेकोशीको लाङटाङ भोटेकोशीले आफ्नो नाममा १२० मेगावाट क्षमताको अर्को आर्कषक आयोजना सर्वेक्षणको नाममा होल्ड गरेर राखेको १० वर्ष भन्दा बढी समय भयो । तर हालसम्म कुनै पनि प्रगति भएको छैन । पञ्चजन्या हाइड्रोले निर्माण गर्ने भनेर सर्वेक्षणको नाममा घान्द्रुक हाइड्रोको अनुमतिपत्र होल्ड गरेको छ । तर काम कहिले सुरु हुने हो भनेर ऊर्जा मन्त्रालयले आजसम्म चासो राखेको छैन । त्रिशक्ति ऊर्जाले निर्माण गर्ने भनेर अनुमतिपत्र लिएको ११० मेगावाट क्षमताको ठूली भेरी आयोजना हालसम्म काम अगाडि बढेको छैन । सनराइज हाइड्रोले निर्माण गर्ने भनेर नेपाल विद्युत् विकास विभागबाट सर्वेक्षणको अनुमति लिएको भेरी तेस्रो आयोजनाको क्षमता ४८० मेगावाट रहेको छ । त्यसको कुनै पनि काम अगाडि बढेको छैन । जाजरकोटमा आयोजना स्थल रहने भनिएको सो आयोजना पनि भारतीय कम्पनीको चासोको आयोजना हो । माथिल्लो कर्णाली आयोजनालाई जसरी सहजै रुपमा जसरी भारतीय कम्पनीले लियो त्यसैगरी नै सो आयोजना पनि भारतीयले आफ्नो कब्जामा पारेको हो । माथिल्लो बुढी गण्डकी जलविद्युत् आयोजनाको सर्वेक्षणको अनुमति नौसुनी हाइड्रोले लिएको छ । सो आयोजनाको क्षमता २५४ मेगावाट रहेको छ । निजी क्षेत्रले त आयोजना लिएर काम अगाडि बढाएनन् बढाएनन् सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै स्वामित्वमा रहेको आयोजनाको काम समेत अगाडि बढाएको छैन । प्राधिकरणको पनि हालत उस्तै तीन सय मेगावाटको दुधकोशी आयोजना प्राधिकरणले जिम्मा लिएको पाँच वर्ष भयो तर त्यसको सर्वेक्षणको काम हालसम्म सुरु हुन सकेको छैन । यस्तै सात सय मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनालाई पनि प्राधिकरणले होल्ड गरेर राखेका छ तर हालसम्म काम अगाडि बढाएको छैन । दुई सय मेगावाटमा सिमित गरेर प्राकृतिक स्रोतलाई केही व्यक्तिको सीमित दायरामा कैद गर्ने खेल भएको छ । अख्तियारले खारेज गर्न निर्देशन दिएको काबेली ए जलविद्युत् आयोजनालाई अगाडि बढाउने स्वार्थका साथ तमोरको क्षमता कम गरिएको प्राधिकरणकै विज्ञहरु बताउँछन् । यस्तै पटक–पटक आयोजनाको सर्वेक्षणको नाममा म्याद थप गर्दै काम नगरी राखेको तमोर मेवा जलविद्युत् आयोजनाले समेत काम अगाडि बढाएको छैन । सो आयोजनाको क्षमता १०१ मेगावाट रहेको छ । चेहेरको हालत पनि उस्तै रहेको छ । व्यूसिकिएन इन्जिनियरिङ कोरियाले निर्माण गर्ने भनेर सर्वेक्षणको अनुमति लिएको १४८ मेगावाट क्षमताको सो आयोजनाको काम कहिले सुरु हुने हो सो बारेमा हालसम्म न त प्रवद्र्धकले जानकारी दिन सकेका छन् नत ऊर्जा मन्त्रालय नै । आँधीखोला हाइड्रको काम पनि माथि उल्लेख गरिएका आयोजनाको भन्दा फरक छैन । प्राधिकरणले सर्वेक्षणको जिम्मा लिएको सो आयोजनाको क्षमता १८० मेगावाट रहेको छ । विभागबाट हालसम्म चार हजार ६१७ मेगावाट क्षमताका सय मेगावाट भन्दा बढीका आयोजनाको सर्वेक्षणको अनमुति पत्र लिएका छन् । यस्तै एक सय मेगावाट भन्दा कमका १३ वटा आयोजनाले पनि सर्वेक्षणको नाममा विभागबाट अनुमति लिएका छन् । त्यसरी अनुमति लिने आयोजनाबाट कुल ८६७ मेगावाट विद्युत उत्पादन हुन्छ । वेस्ट स्टारले निर्माण गर्न लागेको चमेलिया छेतीगाढ ८६ मेगावाट, इनर्जी भेन्चरको लगानी रहने माथिल्लो लाप्चेखोला ९९ मेगावाट, पर्फेक्ट इनर्जीको मध्य त्रिशुली ६५ मेगावाट, नेपाल विद्युत् प्राधिकरणको तमाकोशी पाँचौ ८७ मेगावाट, टेड लिङ्कको बझाङ सेतीको काम समेत अगाडि बढ्न सकेको छैन । डोल्पामा आयोजना स्थल रहेको मल्टी स्टारले निर्माण गर्न लागेको ६० मेगावाट क्षमताको तल्लो भेरी, पिपल्स हाइड्रोले अगाडि बढाएको ४८ मेगावाट क्षमताको खिम्ती दोस्रो, पिके हाइड्रो प्रवद्र्धक रहेको ३० मेगावाट क्षमताको लिखु खोला, हिमालयन इन्फाक्चर फन्डको ८० मेगावाटको माथिल्लो म्याग्दी, अजय सुमार्गीको नाममा रहेको ३५ मेगावाट क्षमताको माथिल्लो आँखुखोला, ९५ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको निलगिरी खोला र न्यादी समूहले बनाउन लागेको ४० मेगावाटको सुपर न्यादीको काम समेत हालसम्म अगाडि बढेको छैन । यस्तै एक मेगावाट भन्दा कम क्षमताको १०२ वटा आयोजनाले पनि सर्वेक्षणको लागि निवेदन दिएका छन् । भने एक देखि २५ मेगावाट क्षमता सम्म ६४ वटा आयोजनाले पनि सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाको कूल क्षमता ४०५ मेगावाट रहेको छ । यस्तै सर्वेक्षणको अनुमति पत्र लिएका साना ठूला आयोजना गरी हालसम्म करिब ३५ हजार मेगावाट भन्दा बढीको आयोजना झोलामा खोला राख्नेहरुसँग रहेको छ । यस्तै सरकारले बास्केट फन्डमा राखेका आयोजनाको संख्या ४० भन्दा बढी रहेको छ । ती आयोजनाबाट पाँच हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन हुन्छ । विद्युत उत्पादनको एक दशक एक प्रतिशत मात्रै उत्पादन नेपालमा चन्द्रशम्सेरले विद्युत् उत्पादन गर्दा दक्षिण एसियामा भारतमा समेत विद्युत उत्पादन भएको थिएन । नेपालमा औपचारिक रुपमा विद्युत् उत्पादन सुरु भएको १०४ वर्ष पुगेको छ । तर कुल क्षमताको एक प्रतिशत भन्दा कम मात्रामा मात्रै विद्युत् उत्पादन भएको छ । हाल निर्माणको क्रममा रहेको आयोजनाको क्षमता पनि पाँच हजार मेगावाट भन्दा बढी रहेको छ । तर, ऊर्जा मन्त्रालय सम्हाल्नेहरुको गैरजिम्मेवार चरित्रका कारण नेपालको ऊर्जा क्षेत्रले उल्लेख्य मात्रामा विकास गर्न सकेको छैन । ऊर्जा क्षेत्रको ज्ञान नभएका मान्छेलाई ऊर्जा मन्त्रालयको जिम्मा लगाउने प्रवृत्तिका कारण झोलामा खोला राख्नेहरुको चलखेल बढेको हो । त्यसो त अधिकाशं आर्कषक आयोजनाहरु भारतीय कम्पनीको पोल्टामा रहेका छन् । जसका कारण सोचेजति प्रगति हुन नसकेको हो । त्यसमा पनि साना तथा मझौला आयोजनाहरु नेकपा९एमाले०का नेताहरुको कब्जामा रहेको छ । ठूला आयोजनाहरु विदेशीको कब्जामा रहेको छ । आर्थिक खुलापनको नाममा २०४७ पछि काँग्रेसले ल्याएको उदारवादी अर्थतन्त्रले पारेको नकारात्मक प्रभावका कारण ऊर्जा क्षेत्रमा सोचेजति प्रगति हुन नसकेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...