सिड्नी । बाढीका कारण पठनपाठन प्रभावित भएको नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले १५ लाख ३२ हजार रुपैयाँ बराबरको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्री सहयोग गरेको छ।
बाढीबाट विद्यालयको भौतिक संरचना तथा शैक्षिक पूर्वाधारमा क्षति पुगेपछि शिक्षक र विद्यार्थी नियमित पठनपाठनका लागि आवश्यक प्रविधि तथा उपकरणको अभावमा थिए। विद्यालयको सिकाइ वातावरणलाई पुनः व्यवस्थित बनाउन एनआरएनए अस्ट्रेलियाले कम्प्युटरसहित आवश्यक आईसीटी उपकरण उपलब्ध गराएको हो।
विद्यालयमा नयाँ उपकरण प्रयोगमा आएसँगै विद्यार्थीलाई डिजिटल शिक्षामा जोडिन सहज हुने तथा आधुनिक शैक्षिक स्रोतमा पहुँच बढ्ने अपेक्षा गरिएको छ। लामो समयदेखि प्रभावित पठनपाठनलाई नियमित बनाउन सहयोग पुग्ने विद्यालयको विश्वास छ।
विद्यालयका अधिकारीहरूले विपद्को कठिन समयमा प्राप्त सहयोगले विद्यालय समुदायको मनोबल बढाएको बताएका छन्। बाढीका कारण विद्यार्थीको सिकाइमा परेको असर कम गर्दै उनीहरूलाई शिक्षाको मूलधारमा फर्काउन यस्तो सहयोग महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित हुन नदिन आवश्यक सहयोग गरिएको बताए।
“विपद्का कारण विद्यार्थीको शिक्षा प्रभावित हुनु हुँदैन। आवश्यक आईसीटी उपकरण उपलब्ध गराएर विद्यालयलाई पुनः नियमित सिकाइ वातावरणमा फर्काउन सहयोग गर्न पाउँदा हामी खुसी छौं। आगामी दिनमा पनि आवश्यकता पहिचान गरी शिक्षा र समुदायका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रयास रहनेछ।”
चौलागाईंले बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा स्थानीय आवश्यकता पहिचान गरी प्रभावकारी ढंगले सहयोग पुर्याउनु गैरआवासीय नेपाली समुदायको जिम्मेवारी भएको पनि बताए।
एनआरएनए अस्ट्रेलियाले नेपालका स्थानीय संस्था तथा सरोकारवालासँग सहकार्य गर्दै संकटका समयमा आवश्यकताअनुसार सहयोग गर्दै आएको जनाएको छ। त्रिशूली माध्यमिक विद्यालयलाई गरिएको सहयोग पनि विपद्पछि शैक्षिक पुनःस्थापना र विद्यार्थीको सिकाइ निरन्तरताका लागि गरिएको पहल भएको संघले जनाएको छ।
एनआरएनए अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर, महासचिव चुडामणि सापकोटा र प्रवक्ता अशोक बस्नेतले सहयोगलाई सम्भव बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। संघले बाढीबाट प्रभावित विद्यार्थी, शिक्षक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा समेत आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाएको छ।