नेभिगेशन
न्यू साउथ वेल्स

भोली बरऊड  पार्कमा नेपाली हिन्दू समाज अष्ट्रेलियाको  तीज महोत्सव : नेपालका बाढी प्रभावितका लागि प्रार्थना र सहयोग अभियान

सिड्नी ।  नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा यस वर्षको तीज महोत्सव २०२६ नेपालमा प्राकृतिक विपद्बबाट  प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विशेष कार्यक्रमका रूपमा आयोजना हुने भएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै महोत्सवमा नेपालका बाढी तथा अन्य प्राकृतिक विपद्बबाट  प्रभावित परिवारलाई सहयोग गर्ने अभियानसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई आफ्नो संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोड्दै मातृभूमिप्रतिको जिम्मेवारी अभिव्यक्त गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। कार्यक्रमअन्तर्गत नेपालमा विपद्का कारण प्रभावित भएका नागरिकको स्वास्थ्य, सुरक्षा र शीघ्र पुनःस्थापनाका लागि विशेष पूजा तथा प्रार्थना गरिनेछ।

महोत्सवमा बिहान ९ बजे पूजा तयारी सुरु हुनेछ। बिहान १० बजेदेखि साँझ ७ बजेसम्म गुरुहरूको मार्गदर्शनमा पूजा तथा भक्तजनका लागि दर्शनको व्यवस्था गरिनेछ। बिहान १० बजेदेखि १०:४५ बजेसम्म रुद्राभिषेक आयोजना गरिनेछ, जसलाई नेपालका विपद् प्रभावितको स्वास्थ्य, सुरक्षा र कल्याणका लागि समर्पित गरिने आयोजकले जनाएको छ।

दिउँसो १२ बजे मध्याह्न आरती तथा १२ देखि १२:२० बजेसम्म भागवत पाठ हुनेछ। भागवत पाठमार्फत प्राकृतिक विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको शान्ति र मोक्षका लागि प्रार्थना गरिनेछ।

महोत्सवको अर्को प्रमुख आकर्षण नेपाली सांस्कृतिक कार्यक्रम हुनेछ। दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली गीत, संगीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली कला, परम्परा र पहिचानलाई प्रस्तुत गरिनेछ।

साँझ ५ बजे हुने औपचारिक कार्यक्रममा माननीय प्रिमियर तथा विशिष्ट अतिथिको स्वागत, विपदमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण, शान्ति पाठ, अतिथिहरूको सम्बोधन, सम्मान तथा धन्यवाद ज्ञापनलगायतका कार्यक्रम राखिएको छ।

कार्यक्रमको अन्तिम तथा मुख्य धार्मिक कार्यक्रमका रूपमा साँझ ७ बजे महाआरती गरिनेछ। महाआरती नेपालमा शान्ति, उपचार, शक्ति र आशाका लागि सामूहिक प्रार्थनाका रूपमा समर्पित गरिने आयोजकले जनाएको छ। कार्यक्रम राति ८ बजे समापन हुनेछ।
नेपाली हिन्दू समाज अष्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बास्ताकोटीले यस वर्षको तीज महोत्सवलाई धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मानवीय सेवासँग जोडिएको अभियानका रूपमा अघि बढाउन खोजिएको बताइन्।

उनका अनुसार विदेशमा रहे पनि नेपाली समुदायको भावनात्मक सम्बन्ध र जिम्मेवारी मातृभूमिसँग जोडिएको छ। “नेपालमा विपद्का कारण कठिन अवस्थामा रहेका दाजुभाइ तथा दिदीबहिनीका लागि प्रार्थना गर्नुका साथै आफूले सकेको सहयोग गर्नु हाम्रो दायित्व हो,” बास्ताकोटीले भनिन्, “यस वर्षको तीज महोत्सवमार्फत हाम्रो प्रार्थनालाई सहयोग र सेवासँग जोड्ने प्रयास गरेका छौं।”

महोत्सवमा सहभागी भक्तजन तथा समुदायका सदस्यबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरिनेछ। संकलित रकम नेपालका बाढी तथा प्राकृतिक विपद्ब बाट प्रभावित व्यक्ति र समुदायको सहयोगमा पठाइने आयोजकले जनाएको छ।

आयोजकले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई महोत्सवमा सहभागी भई धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै विपद् प्रभावित नेपालीका लागि सहयोगको हात बढाउन आग्रह गरेको छ।

‘नेपालका लागि प्रार्थना, नेपालीका लागि एकता र विपद् प्रभावितका लागि सहयोग’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको महोत्सवले अष्ट्रेलियास्थित नेपाली समुदायको सांस्कृतिक एकता र मानवीय सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्