नेभिगेशन
न्यू साउथ वेल्स

मानवताको सन्देश बोकेर अस्ट्रेलिया भ्रमणमा मानवसेवा आश्रम

सिड्नी ।  सडकमा आश्रयविहीन तथा सहयोगापेक्षी जीवन बिताइरहेका मानिसको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले अस्ट्रेलियाका सात प्रमुख सहरमा मानवीय सेवा र करुणाको सन्देश फैलाउने भएको छ।

‘Connect Australia Through Humanity’ अभियानअन्तर्गत आश्रमले आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ७ सम्म पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, सिड्नी, क्यानबेरा र ब्रिसबेनमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो।IMG_7015-1789255891.jpeg

‘Humanity First – Compassion in Action’ अर्थात् ‘मानवता पहिलो–करुणालाई कर्ममा’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता, करुणा, राष्ट्रियता, मातृभूमि तथा आमासम्बन्धी विषयमा विशेष उत्प्रेरणात्मक प्रस्तुति दिनेछन्। त्यस्तै आश्रमको १४ वर्षे सेवा यात्रा, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माणका लागि भइरहेका प्रयास, सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्य र आगामी योजनासम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिनेछ।

वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हालसम्म देशका विभिन्न स्थानबाट १४ हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरी संरक्षण प्रदान गरेको जनाएको छ। तीमध्ये करिब ६ हजार जनालाई सम्मानपूर्वक पारिवारिक पुनर्मिलन गराइसकेको आश्रमको भनाइ छ। हाल आश्रमले सातै प्रदेशका २४ जिल्लामा ३५ वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन गरिरहेको छ।a0c8dc4c-28dc-41c0-8fdf-7d767b699490-1789254047.jpeg

आश्रमले सडकपेटी तथा सार्वजनिक स्थलमा कोही पनि अनाथ र बेवारिसे जीवन बिताउन नपरोस् भन्ने उद्देश्यसहित आफ्नो अभियान अघि बढाइरहेको जनाएको छ। अस्ट्रेलिया यात्रा पनि यही मानवीय सन्देशलाई अन्तर्राष्ट्रिय नेपाली समुदाय र मानवताप्रेमीहरूमाझ पुर्‍याउने तथा मानवतामैत्री नेपाल निर्माणको अभियानमा सहकार्य जुटाउने उद्देश्यले गर्न लागिएको हो।

मानवसेवा अस्ट्रेलिया च्याप्टरका संयोजक त्रिलोचन पोखरेलले  अस्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था, व्यवसायी, दाता तथा मानवताप्रेमीलाई नेपालको मानवीय सेवासँग जोड्नु अभियानको मुख्य उद्देश्य रहेको बताए ।

“मानवता कुनै भूगोलमा सीमित हुँदैन। नेपालमा सडकआश्रित तथा सहयोगापेक्षी मानिसका लागि भइरहेको मानवीय अभियानमा अस्ट्रेलियामा रहेका नेपाली र मानवताप्रेमी समुदायलाई जोड्ने प्रयास हो। करुणालाई कर्ममा बदल्दै मानवताको साझा यात्रामा सबैलाई सहभागी गराउने हाम्रो उद्देश्य छ,” पोखरेलले भने।

मानवसेवा अस्ट्रेलिया च्याप्टरका अनुसार यसअघि गोरखा समाज अस्ट्रेलियाको आयोजनामा भएको मानवीय सेवा यात्राबाट प्राप्त अनुभव र आवश्यकतालाई आत्मसात् गर्दै अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सन् २०२४ फेब्रुअरी १२ मा त्रिलोचन पोखरेलको संयोजकत्वमा च्याप्टर गठन गरिएको थियो।

अस्ट्रेलिया यात्रामा आश्रमका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँगै केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय विभागकी संयोजक निता केसी र केन्द्रीय अध्यक्षको सचिवालयका सदस्य एवं फोटोग्राफर नीरज पटेल सहभागी हुनेछन्।

आश्रमले अस्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था, व्यवसायी, अभियन्ता, दाता तथा मानवताप्रेमीहरूलाई अभियानमा सहभागी भई नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने साझा अभियानमा हातेमालो गर्न आग्रह गरेको छ।

“करुणालाई कर्ममा बदल्दै मानवताको साझा यात्रामा जोडिऔँ” भन्ने सन्देशसहित आश्रमले अस्ट्रेलिया यात्रालाई मानवीय सेवाका लागि नेपाल र अस्ट्रेलियाबीचको सहकार्य विस्तार गर्ने अवसरका रूपमा अघि बढाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्