डब्बो, अस्ट्रेलिया। डब्बो नेपाली कम्युनिटी अस्ट्रेलिया (DNCA) को आयोजनामा आइतबार, ६ सेप्टेम्बर २०२६ का दिन डब्बोस्थित एल्स्टन पार्कमा नेपालमा गत २६ अगस्टमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डब्बो रिजनल काउन्सिल मेयर जोस ब्ल्याक, काउन्सिलर शिब्ली चौधरीलगायत विभिन्न बहुसांस्कृतिक समुदाय तथा संस्थाका प्रतिनिधिहरू र डब्बोमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। विदेशमा रहे पनि नेपालीहरूको मन, मुटु र भावना सधैँ नेपाल र नेपालीसँगै रहने बताउँदै विपत्तिको समयमा सबैले हातेमालो गरेर पीडितहरूको दुःखमा मलम लगाउनुपर्ने सन्देश कार्यक्रममा व्यक्त गरिएको थियो।
डब्बो नेपाली कम्युनिटी अस्ट्रेलियाले नेपाली तथा विभिन्न बहुसांस्कृतिक समुदायलाई गरेको सहयोग आह्वानबाट सङ्कलित करिब १० लाख ७६ हजार नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएको छ।
यसैगरी, डब्बोमा रहेको राइनो नेपाली फुटबल क्लबले करिव चार हजार अस्ट्रेलियन डलर सङ्कलन गरेको जानकारी कार्यक्रममा गराएको थियो। उक्त रकम पनि नेपालका बाढी तथा पहिरो पीडितहरूको राहत र सहयोगका लागि पठाइने क्लबले जनाएको छ।
कार्यक्रममा डब्बो नेपाली कम्युनिटी अस्ट्रेलियाका अध्यक्षले आगामी दिनहरूमा पनि नेपाल र नेपालीलाई आवश्यक सहयोग गर्न विदेशमा रहेका सम्पूर्ण नेपालीहरू एकजुट भएर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। उहाँले मातृभूमिबाट टाढा रहे पनि नेपालमा आइपर्ने दुःख, विपत्ति र आवश्यकताका समयमा सहयोग गर्नु सबै प्रवासी नेपालीहरूको साझा जिम्मेवारी भएको बताउनुभयो।
यस कार्यक्रमले राष्ट्रियता भूगोलमा मात्र सीमित नहुने र विदेशमा रहेर पनि नेपाल तथा नेपालीप्रति उत्तिकै माया, श्रद्धा, सद्भाव र सहयोग व्यक्त गर्न सकिने सन्देश दिएको छ। नेपाली तथा बहुसांस्कृतिक समुदायसँग हातेमालो गर्दै डब्बोवासी नेपालीहरूले मानवीय सहयोग र सामुदायिक एकताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।