सम्पादकीय
३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको “३०४ औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस” को अवसरमा स्वदेश तथा विदेशमा रविभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । हरेक वर्ष पुस २७ गते नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँछ । यो केवल एक महान् व्यक्तित्वको जन्मजयन्ती होइन -यो आधुनिक नेपालको निर्माण यात्रा, राष्ट्रिय अस्तित्वको संघर्ष र एकताको चेतनाको स्मरण हो । पृथ्वी नारायण शाह व्यक्ति मात्र होइनन् एक युग पनि हुन् ।
वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वी नारायण शाह नेपालका इतिहासका सबैभन्दा दूरदर्शी राष्ट्रनिर्माता हुन् । त्यो समय नेपाल बाइसे-चौबीसे राज्यमा विभाजित थियो । बाह्य शक्तिको प्रभाव तीव्र बन्दै थियो । राष्ट्रिय अस्तित्व नै संकटमा थियो । यही ऐतिहासिक क्षणमा उनले घोषणा गरे -"नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो" यो कुनै साधारण नारा थिएन । यो समावेशी राष्ट्रदर्शन थियो, जहाँ भिन्नता भित्र एकता खोजिएको थियो ।
पृथ्वी नारायण शाहको एकीकरण अभियान भू-राजनीतिक दूरदृष्टिको उत्कृष्ट उदाहरण हो । यदि नेपाल टुक्रिएकै अवस्थामा रहिरहन्थ्यो भने, आज हामी स्वतन्त्र राष्ट्रको रूपमा उभिएका हुनेथियौँ भन्ने कुनै सुनिश्चितता थिएन । उनले भूभाग मात्र होइन, संस्कृति, पहिचान र राष्ट्रिय भावना पनि जोडिदिए ।हाम्रा पूर्खाको वीरता, कार्यकुशलता र राष्ट्रप्रतिको जिम्मेवारीपूर्ण भूमिकाको कारण अमूल्य सभ्यता, संस्कृति र प्राकृतिक सम्पदा भएको हाम्रो देश नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहि आएको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा उल्लेख छ । उक्त समयमा पृथ्वीनारायण शाहले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा दिनुभएको दिव्योपदेश वर्तमान अवस्थामा पनि उत्तिकै उपयोगी र प्रेरणादायी रहेको जगजाहेर नै छ ।
भौगोलिक रूपमा विभाजित साना राज्यहरूलाई एकताबद्ध गरी आधुनिक नेपाल निर्माण गर्ने महान् अभियानको नेतृत्व गरेर पृथ्वीनारायण शाहले हामीलाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको नागरिकका रूपमा विश्वमा चिनिने अवसर प्रदान गर्नुभयो । उहाँको दूरदर्शिता, साहस र नेतृत्वका कारण नै आज हामी "नेपाली" भएर गर्व गर्न पाएका छौँ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशमा पूर्खाले देखाएको मार्गदर्शनलाई आत्मसाथ गर्दै सत्मार्गमा लैजाने अभिभारा हामी सबैको हो ।
हाम्रो गौरवपूर्ण इतिहासलाई सदासर्वदा स्मरण गर्दै आजको दिनले हामी सबैलाई एकताको सुत्रमा बाध्न थप अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । पुर्खाहरूको बलिदानबाट प्राप्त स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्दै समृद्ध नेपाल निर्माणमा लाग्न सके मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । जब हामी राष्ट्रिय एकतालाई व्यवहारमा उतार्छौँ, त्यही दिन पृथ्वी जयन्ती साँचो अर्थमा सार्थक हुनेछ । राष्ट्रिय एकता दिवसले हामी सबैमा "हामी एक हौँ र हाम्रो लक्ष्य साझा छ" भन्ने भावना जागृत गरी आपसी सद्भाव, भ्रातृत्व र विकासको मार्गमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ ।