नेपाली महिलाहरूको विशेष पर्व तीज आज नेपाल र नेपाल बाहिर रहेका नेपाली महिलाहरुले मनाउदै छन् । भाद्र शुक्ल तृतीयाको दिनमा पर्ने यो पर्वमा महिलाहरूले दरखाने, व्रत बस्ने, पूजाआजा गर्ने चलन छ । धार्मिक परम्परा अनुसार तृतीयाको दिन अविवाहित महिलाहरू सुयोग्य वरप्राप्तिका लागि र विवाहित महिलाहरू पति वा परिवारको कल्याणका लागि निराहार व्रत बस्छन् र शिवपार्वतीको पूजाआजा गर्छन् । हामीले हाम्रो संस्कारअनुसार तिज पर्व मनाउँछौं । भगवान् शिवको पूजा गरेर तिजमा व्रत बस्छौं । नारीहरूले भगवान् शिवको आराधना गर्छन् । विशेषगरी यस पर्वमा चेलीले बर्षभरि आफुले भोगेका र देखेका सुख दुखलाई माईतिको आँगनमा गीतको माध्यमबाट आफ्नो बेदना पोख्ने मात्रै होइन आफ्ना दिदीबहिनी, साथीसँगीसंग नाचगान गरेर रमाईलो गर्ने चलन रहदै आएको छ । तिजमा सबै दिदीबहिनी मिलेर दर खाने, नाच्ने र रमाउने गरिन्छ ।
तिज मनाउनु परापूर्व कालदेखिको हाम्रो संस्कार र संस्कृति हो । यो पर्व मनाउने बहानामा समाजमा अनेक विसङ्गतिले गाँज्दै आईरहेको यथार्थता हाम्रा सामु जगजाहेर नै छ । हामीले अरुको देखासिखिमा नभई आफ्नो हैसियतअनुसार पर्व मनाउनुपर्छ भन्ने मान्यता लाई स्थापित गर्नु पर्ने खाचो टड्कारो देखिएको छ । हाम्रो मौलिक चाडपर्व तथा मनाउने संस्कृतिलाई बचाइराख्न आफ्नो हैसियतभन्दा माथि उठेर खर्च गर्ने बानी राम्रो होइन । अर्काको सिको गरेर ऋण काढीकाढी खर्च गर्ने बानीले संंस्कार र संस्कृतिमा नै आँच आउन सक्छ भन्ने सन्देश दिन सक्नु परेको छ ।
हामी आफ्नो संस्कार र संस्कृतिमा रमाएका छौ तर संस्कृतिलाई जोगाउने निहुमा विकृति भित्रिएको थाहा पाउँदैनौं। आफ्नो हैसियतलाई बिर्सिएर अगाडि बढ्न खोज्दा हामीले ठुलो संकट बेहोर्नुपर्ने हुन्छ। हाम्रा पुर्खाले मान्दै आएका चाडपर्वहरू मनाउनु वा संस्कृतिलाई जोगाउनु पनि हाम्रो धर्म हो । हाम्रो बहुमुल्य संस्कृतिलाई आफ्नै रूपबाट जोगाउन हामी सबै लाग्नुपर्ने बेला आएको छ ।
धार्मिक र सांस्कृतिक महत्व बोकेका यस्ता हाम्रा पर्व र परम्पराले समुदायबीचको भाइचारा ,आत्मियता र सामिप्यतालाई अझ उजिल्याउदै लैजाओस् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको हार्दिक शुभकाममा ।