नेभिगेशन
खेलकुद

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो। खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो।

आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन। श्रीलंकाले पहिलो हाफमै २ खेलाडी परिवर्तन गरेको थियो। दोस्रो हाफमा नेपालले थप अवसर सिर्जना गरेको थियो, तर पुन: एकपटक पहिलो हाफकै फिनिसिङको समस्या दोहोरिंदा खेलमा अग्रता बढाउन असफल रह्यो।

खेलको दोस्रो मिनेटमै नेपालको अग्रता लिने प्रयासमा अफसाइड बाधक बन्यो। अभिनाश स्याङतानको फ्रिकिकमा निराजन धामीको प्रयास गोल भएपनि सहायक रेफ्रीले अफसाइडका लागि झन्डा उठाए। २१ औं मिनेटमा कुशल देउवाको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

खेलको २४ औं मिनेटमा निराजनले नै नेपाललाई अग्रता दिलाए। समिर तामाङले थ्रो इन बाट आएको बललाई पेनाल्टी क्षेत्रभित्र खेक्दा श्रीलंकाली डिफेन्डरले क्लियर गर्न सकेनन्। त्यसै बललाई नियन्त्रणमा लिँदै निराजनले सुन्दर फिनिस गरे।

पहिलो हाफको इन्ज्युरी समयमा श्रीलंकाका मिहम्द थिल्हमले गरेको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाए।

दोस्रो हाफको ६३ औं मिनेटमा समिर तामाङले गोल गर्ने सुवर्ण अवसर खेर फाले। राम थापाले दायाँ विंगबाट दिएको लो क्रस निराजनले छुन नसक्दा ब्याक पोस्टमा रहेका समिरले गरेको पहिलो टचकै प्रहार आकासियो।

८० औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर सदुपयोग गर्न सकेन। अभिनाशको थ्रु बलमा अनिल बम्जनको प्रहार श्रीलंकाका गोलरक्षक अहमद फुलेलले खुट्टाले विफल पारे। त्यसअघि अभिनाशकै क्रसमा आश्विन घोरासैनीको हेडरले पोस्टको दिशा लिन सकेन।

इन्ज्युरी समयको पहिलो मिनेटमा निराजनको प्रहारमा पोस्ट बाधक बन्यो। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।

यस जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

सोमबारको समूह बी अन्तर्गत दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै भुटान र भारतले खेल्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एक्सपर्ट कप फुटबलमा १६ टीम

एक्सपर्ट कप फुटबलमा १६ टीम

पहिलो पटक दर्शकलाई समेत पुरस्कार