नेभिगेशन
न्यू साउथ वेल्स

डा. मुल्मीसँग सिड्नीमा सामुदायिक विकासका चुनौती र सम्भावनाबारे छलफल

स्वास्थ्य, सामाजिक विकास र सामुदायिक नेतृत्वका अनुभव आदानप्रदान; नेपाली संघसंस्थाबीच सहकार्यमा जोड

सिड्नी ।  दक्षिण एसियामा सामुदायिक विकास, स्वास्थ्य सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा भएका प्रयास तथा अनुभवबारे छलफल गर्न सिड्नीमा वरिष्ठ स्वास्थ्य तथा विकास अभियन्ता डा. शान्तलाल मुल्मीसँग सामुदायिक अगुवाहरूको अन्तरक्रिया सम्पन्न भएको छ।

फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया (फेन्का), न्यु साउथ वेल्सको आयोजनामा शनिबार, १० अक्टोबरमा रकडेलस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको कार्यालयमा भएको कार्यक्रममा नेपाली समुदायका अगुवा, समाजसेवी, प्राध्यापक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।IMG_7608-1792115258.jpeg

‘डा. शान्तलाल मुल्मीसँग सामुदायिक अगुवाहरूको अन्तरक्रिया’ शीर्षकमा आयोजित कार्यक्रममा विशेषगरी नेपालसहित दक्षिण एसियामा सामुदायिक विकास, स्वास्थ्य र सामाजिक क्षेत्रमा भएका पहल, तिनका उपलब्धि तथा चुनौतीबारे अनुभव आदानप्रदान गरिएको थियो। सामुदायिक संस्थाहरूको भूमिका प्रभावकारी बनाउने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने र विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा मुख्य प्रस्तुति दिँदै डा. मुल्मीले दक्षिण एसियामा सामुदायिक विकास र जनस्वास्थ्यका क्षेत्रमा भएका प्रयास तथा आफूले देखेका अनुभव प्रस्तुत गरेका थिए। समुदायको आवश्यकता पहिचान, स्वास्थ्य सेवामा पहुँच, सामाजिक उत्तरदायित्व र विकासका पहलमा सामुदायिक सहभागिताको महत्त्व छलफलका प्रमुख विषय बनेका थिए।

उनको प्रस्तुतिमाथि प्राध्यापक, पत्रकार तथा वरिष्ठ समाजसेवी डा. राजु मानन्धरले विश्लेषणात्मक टिप्पणी गर्दै छलफललाई सहजीकरण गरेका थिए। प्रस्तुतिपछि सहभागीहरूले सामुदायिक विकासका अभ्यास, नेतृत्वको प्रभावकारिता, सामाजिक संस्थाहरूको दायित्व तथा आपसी सहकार्यका सम्भावनाबारे आफ्ना अनुभव र धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता फेन्का अस्ट्रेलियाका अध्यक्ष डा. मधु पुडासैनीले गरेका थिए। फेन्का न्यु साउथ वेल्सका उपसंयोजक चिरन तिवारीले सञ्चालन गरेको कार्यक्रममा न्यु साउथ वेल्सका संयोजक मुक्तिराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए।

छलफलमा सहभागीहरूले नेपाली समुदायको विकासका लागि संस्थागत सहकार्य, अनुभवको आदानप्रदान र साझा उद्देश्यप्रति प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूका अनुसार, यस्ता अन्तरक्रियाले विभिन्न पेसा र क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याउनुका साथै समुदायका आवश्यकता, सम्भावना र चुनौती पहिचान गर्न सहयोग पुर्‍याउँछन्।

कार्यक्रममा नेपाली सिनियर सोसाइटी अस्ट्रेलियाका अध्यक्ष तथा वरिष्ठ समाजसेवी डा. नारायण प्रधान, प्राध्यापक डा. ध्रुव वश्याल, हिड्स नेपालका कार्यकारी संस्थापक प्रतापराज वन्त, गुठी अस्ट्रेलियाका सांस्कृतिक सचिव श्याम सैजु, आरएसएनए अस्ट्रेलियाका महासचिव कमल चापागाईं, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नीकी पूर्वअध्यक्ष ममता तिवारी, स्वास्थ्यकर्मी तीर्थराज गुरागाईं, पिक रियल्टीका सञ्चालक राजु खनाल, गुल्मी समाज अस्ट्रेलियाका अध्यक्ष चतुरभुज खरेल, एभरेष्ट कम्युनिकेसन रकडेलका सञ्चालक युवराज भहराई, अभिभावक तथा समाजसेवी टीका गिरी, महिला अभियानकर्मी स्तुति मुल्मीलगायत राजेन्द्र भण्डारी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको सहभागिता थियो।

सहभागीहरूले सामुदायिक संस्थाहरूबीच समन्वय बढाउन, उपलब्ध स्रोत र अनुभवको प्रभावकारी उपयोग गर्न तथा सामाजिक विकासका साझा लक्ष्य हासिल गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कार्यक्रमले नेपाली समुदायमा आपसी समझदारी र सहकार्य विस्तारका लागि उपयोगी आधार तयार गरेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रम सफल बनाउन रकडेलस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका शाखा प्रबन्धक ऋतु अर्याल र आकाशले सहयोग गरेका थिए।

समापन मन्तव्यमा फेन्का अस्ट्रेलियाका अध्यक्ष डा. पुडासैनीले सामुदायिक विकासका अवसर र चुनौतीबारे चर्चा गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने प्रस्तोता, टिप्पणीकार, सहभागी तथा सहयोगीप्रति आभार व्यक्त गरेका थिए। उनले यस्ता संवादले नेपाली समुदायका संस्थाहरूको क्षमता अभिवृद्धि, संस्थागत सम्बन्ध विस्तार र सामुदायिक एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

रकडेलमा सम्पन्न अन्तरक्रियाले अस्ट्रेलियामा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरूलाई सामुदायिक विकासका अनुभव साटासाट गर्ने र भविष्यमा सहकार्यका सम्भावना पहिल्याउने अवसर प्रदान गरेको छ। समुदायका साझा आवश्यकता सम्बोधन गर्न ज्ञान, अनुभव र स्रोतको सामूहिक उपयोग आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्