नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियामा नेपाली समुदायका लागि विशेष कल्याणकारी कार्यक्रम: मानसिक स्वास्थ्यदेखि मेनोपज र भेपिङ सचेतनासम्म

सिड्नी। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली तथा बहुसांस्कृतिक समुदायभित्र स्वास्थ्य, मानसिक एवं सामाजिक कल्याणसम्बन्धी सचेतना जगाउने र समुदायबीचको आपसी सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ दिदीबहिनी महिला नेटवर्क अष्ट्रेलिया (DWNA-NSW) ले सिड्नीको ग्रानभिलमा एक बृहत् सामुदायिक कार्यक्रम आयोजना गर्ने भएको छ। 
डीडब्ल्यूएनए सामुदायिक कल्याण तथा सम्बन्ध विस्तार कार्यक्रम' (DWNA Community Wellbeing & Networking Event) नाम दिइएको उक्त विशेष भेला आगामी सेप्टेम्बर २६, २०२६ (शनिबार) का दिन दिउँसो ३:०० बजेदेखि ग्रानभिल टाउन हल (१० कार्लटन स्ट्रिट, ग्रानभिल) मा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ।

यस कार्यक्रमले विशेष गरी मानसिक स्वास्थ्य, आधुनिक जीवनशैलीका चुनौती, महिला स्वास्थ्य तथा सामाजिक सद्भावलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरू अगाडि बढाउनेछ। पछिल्लो समय युवापुस्ता र समग्र समुदायमा बढ्दै गएको धूम्रपान तथा भेपिङ (Vaping) को प्रयोग र यसले पार्ने नकारात्मक स्वास्थ्य असरबारे सहभागीहरूलाई सुसूचित गराइनेछ। साथै, दैनिक जीवनमा उत्पन्न हुने मानसिक तनाव व्यवस्थापन, स्वस्थ जीवनशैलीका व्यावहारिक उपायहरू र व्यक्तिगत कल्याणका विषयमा विशेषज्ञहरूसँग अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरिनेछ।

महिला स्वास्थ्यको महत्त्वपूर्ण तर प्रायः ओझेलमा पर्ने विषय 'मेनोपज' (रजोनिवृत्ति) लाई लक्षित गरी छुट्टै विशेष कार्यशाला समावेश गरिएको छ। मेनोपजका क्रममा महिलामा देखिने शारीरिक र मानसिक परिवर्तन, त्यसले जीवनशैलीमा ल्याउने उतारचढाव र त्यस अवस्थालाई सहज बनाउन आवश्यक पर्ने पारिवारिक तथा सामाजिक सजगताबारे अनुभव र जानकारी आदानप्रदान गरिनेछ। 

साथै मानसिक शान्ति, एकाग्रता र आन्तरिक ऊर्जा अभिवृद्धिका लागि सहभागीहरूलाई ध्यान (Meditation) को प्रत्यक्ष अभ्यास समेत गराइनेछ।

कार्यक्रमलाई सूचनामूलक मात्र नबनाई मनोरञ्जनात्मक र सांस्कृतिक रूपमा पनि भव्य बनाउने तयारी गरिएको छ। सांगीतिक प्रस्तुतितर्फ चर्चित गायिका सदा श्रेष्ठ तथा स्थानीय उदीयमान कलाकार जेनिशा गौतमको प्रत्यक्ष गायन रहनेछ भने विविध सांस्कृतिक नृत्य र सांगीतिक प्रस्तुतिहरूले कार्यक्रममा थप रौनक थप्नेछन्। 
बहुसांस्कृतिक र बहुपुस्तीय  सहभागीहरूलाई जोड्ने उद्देश्य राखिएको यो कार्यक्रम पूर्ण रूपमा मदिरारहित, परिवारमैत्री र निःशुल्क प्रवेशको व्यवस्थासहित सञ्चालन हुनेछ। सहभागीहरूका लागि निःशुल्क भोजनको समेत प्रबन्ध गरिएको छ।

दिदीबहिनी महिला नेटवर्क एनएसडब्ल्यूकी संयोजक प्रतिज्ञा अधिकारीका अनुसार, यो कार्यक्रम केवल सूचना बाँड्ने थलो मात्र नभई समुदायका सदस्यहरूबीच भेटघाट, नयाँ सम्बन्ध विस्तार र अनुभव साटासाट गर्ने साझा मञ्च हो। उनले सिड्नी तथा वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली अभिभावक, युवा तथा महिला-पुरुषहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रमको लाभ लिन हार्दिक अपिल गरेकी छन्। 
कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न प्रवेश निःशुल्क भए पनि सहभागीहरूका लागि पूर्वदर्ताको लागि अपिल  गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्