सिड्नी । नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक पर्व तीजलाई यस वर्ष प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा आएको प्राकृतिक विपद्को पीडा र प्रभावितप्रतिको ऐक्यबद्धतासँग जोडेर मनाएका छन्।
एनआरएनए अष्ट्रेलियाअन्तर्गत नारी निकुञ्ज न्यू साउथ वेल्सको आयोजनामा आइतबार अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा आयोजित तीज विशेष कार्यक्रममा नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
कार्यक्रमको सुरुवात एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि दीप प्रज्वलन तथा क्यान्डल लाइटमार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति संवेदना व्यक्त गरिएको थियो।
तीजको उल्लास मनाउने क्रममा मातृभूमिमा परेको विपद्को पीडालाई समेत स्मरण गरिएको कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायको सामाजिक संवेदना, एकता र मातृभूमिप्रतिको भावनात्मक सम्बन्धलाई उजागर गरेको थियो।
कार्यक्रममा न्यू साउथ वेल्सका सांसद जुलिया फिन एमपी र लिन्डा भोल्ट्ज एमपीलगायतका अतिथिले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा नेपाली समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरे।
उनीहरूले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै कला, संस्कृति, सामाजिक सेवा, व्यवसाय तथा सामुदायिक गतिविधिमार्फत नेपालीहरूले अष्ट्रेलियाली समाजमा सकारात्मक योगदान पुर्याइरहेको बताए।
कार्यक्रममा काउन्सिलर सुसेई बेन्जामिन, डिभाइन कम्युनिटीका अध्यक्ष योगेश खट्टर, एनआरएनएका संस्थापक अध्यक्ष मन केसी, पूर्व अध्यक्ष गणेश केसी, कोषाध्यक्ष निजन चौलागाईं, नारी निकुञ्जकी संस्थापक अध्यक्ष रञ्जु वाग्ले थापा, संस्थापक उपाध्यक्ष अञ्जना पन्त, पूर्व अध्यक्ष संगीता चापागाईं, विष्णु हमाल, प्रतिज्ञा अधिकारी तथा एनआरएनए न्यू साउथ वेल्सकी राज्य संयोजक उषा किरण बरियालेलगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले नारी निकुञ्जले नेपाली महिला तथा समुदायका लागि गर्दै आएका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिको चर्चा गर्दै प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।
कार्यक्रम संयोजक तथा नारी निकुञ्ज न्यू साउथ वेल्सकी संयोजक आशा श्रेष्ठले विपद्को पीडामा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै दुःख र शोकलाई शक्तिमा रूपान्तरण गरेर पुनःस्थापना र सहयोगका लागि सबै एकजुट हुनुपर्ने बताइन्।
कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने पनि नारी निकुञ्ज न्यू साउथ वेल्सकी संयोजक आशा श्रेष्ठले जानकारी दिइन्। तीजको सांस्कृतिक उत्सवसँगै मातृभूमिमा विपद्मा परेका नेपालीका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताइन्।
‘यस वर्षको तीजलाई विगतका वर्षभन्दा फरक र विशेष बनाउने उद्देश्यले सांस्कृतिक उत्सवसँगै मातृभूमिमा परेको विपद्लाई पनि स्मरण गरेका हौं,’ श्रेष्ठले बताइन्।
उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, प्रायोजक, कलाकार, स्वयंसेवक, सहयोगी तथा सहभागी सबैप्रति आभार व्यक्त गरिन्। कार्यक्रमको स्वागत मन्तव्य नारी निकुञ्ज न्यू साउथ वेल्सकी उप–महिला संयोजक लक्ष्मी भण्डारी अधिकारीले दिएकी थिइन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न प्रायोजक तथा संघसंस्थालाई समेत धन्यवाद दिएको थियो।
कार्यक्रममा एनआरएनएका संस्थापक इन्द्रा बन, नारी निकुञ्जकी संस्थापक उपाध्यक्ष अञ्जना पन्त, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानकी पूर्व अध्यक्ष सुजाता बस्नेत केसी, नारी निकुञ्जकी सल्लाहकार मेन्ना शर्मा, तमु समाज अष्ट्रेलियाकी अध्यक्ष समिता गुरुङ, श्रीजना संग्रौलालगायत एनआरएनए तथा नारी निकुञ्जका पूर्व पदाधिकारी, विभिन्न नेपाली समाजका प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो।
तीजका गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई उत्सवमय बनाएको थियो। सहभागी महिलाहरू तीजका परम्परागत पहिरनमा सजिएर कार्यक्रममा सहभागी भएका थिए। सिड्नीमा आयोजित तीज कार्यक्रम मनोरञ्जन र सांस्कृतिक उत्सवमा मात्र सीमित रहेन। तीजको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै मातृभूमिमा आएको विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, प्रभावितप्रति संवेदना र सहयोगका लागि रकम संकलन गर्दै कठिन समयमा नेपाली समुदाय एकजुट हुने सन्देशसमेत कार्यक्रमले दिएको थियो। (null)