नेभिगेशन
न्यू साउथ वेल्स

ओरेन्जमा ‘ओरेन्ज डाँफे क्रिकेट क्लब’ स्थापना, अध्यक्षमा नवराज थापा

ओरेन्ज। सिड्नीबाट टाढा रहेको न्यु साउथ वेल्सको ओरेन्जमा बसोबास गर्ने नेपाली समुदायले क्रिकेटमार्फत आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले ‘ओरेन्ज डाँफे क्रिकेट क्लब (Orange Danphe Cricket Club)’ स्थापना गरेका छन्। क्लबको अध्यक्षमा नवराज थापा चयन हुनुभएको छ।

विशुद्ध मनोरञ्जन, खेलकुद र सामुदायिक सहभागितालाई केन्द्रमा राखेर स्थापना गरिएको क्लबले ओरेन्जमा रहेका नेपाली क्रिकेटप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ। क्रिकेटका माध्यमबाट नेपाली समुदायबीच आपसी सम्बन्ध थप मजबुत बनाउँदै स्वस्थ तथा सकारात्मक खेलकुद संस्कृतिको विकास गर्ने क्लबको उद्देश्य रहेको छ।

क्लबका अध्यक्ष नवराज थापाका अनुसार, ओरेन्ज डाँफे क्रिकेट क्लब कुनै व्यक्ति विशेषको नभई ओरेन्जमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा संस्था हो। क्लबले उमेर, क्षमता वा व्यक्तिगत पृष्ठभूमिभन्दा माथि उठेर सबैलाई समान रूपमा सहभागी गराउने र समुदायमा सहकार्य, एकता तथा सकारात्मक वातावरण निर्माण गर्ने प्रयास गर्नेछ।

ओरेन्जमा नेपाली समुदायको संख्या र सक्रियता बढ्दै गएको अवस्थामा खेलकुदलाई सामाजिक सम्बन्ध विस्तारको माध्यम बनाउने यो पहललाई महत्वपूर्ण रूपमा हेरिएको छ। क्रिकेट खेल्ने तथा हेर्ने रुचि भएका नेपालीहरूलाई एउटै छातामुनि ल्याउँदै क्लबले आगामी दिनमा नियमित खेलकुद गतिविधि, मैत्रीपूर्ण प्रतियोगिता तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्