सिड्नी। नेपालका विपद्प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि झापाली समाज अस्ट्रेलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अष्ट्रेलियन डलर ११ हजार ४ सय ६१.७१ सहयोग हस्तान्तरण गरेको छ। उक्त रकम विनिमय दरअनुसार करिब रु. १२ लाख २० हजार ५ सय ६९ बराबर हुन्छ।
समुदायका दाता, सदस्य, शुभचिन्तक तथा सहयोगीबाट संकलित रकम सिंहदरबारमा आयोजित एक कार्यक्रममा झापाली समाज अस्ट्रेलियाका संरक्षक दिनेश पोखरेल तथा उपाध्यक्ष मदन धौरालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरणका क्रममा बैंकले ट्रान्सफर शुल्क पूर्ण रूपमा छुट दिएका कारण संकलित अष्ट्रेलियन डलर ११ हजार ४ सय ६१.७१ को सम्पूर्ण रकम नै राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
यस अवसरमा अन्तर्राष्ट्रिय झापाली समाजले पनि संकलन गरेको रु. १५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको थियो। अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईं, निवर्तमान अध्यक्ष तथा संरक्षकद्वय दिनेश पोखरेल र मुकुन्द ढुंगाना, नेपाल समितिका संयोजक राजु थापा, अभियन्ता प्रेम चम्लागाईं लगायत पदाधिकारीहरूको उपस्थितिमा अर्थमन्त्री वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।
झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले विपद्को समयमा मातृभूमिका नागरिकलाई सहयोग गर्नु समाजको सामाजिक जिम्मेवारी भएको बताए।
“नेपालमा विपद्का कारण प्रभावितहरुलाई दुःखमा साथ दिन पाउनु हाम्रो सामाजिक दायित्व हो। यो सहयोग रकम झापाली समाज अस्ट्रेलियाको मात्र नभई यहाँ रहेका सम्पूर्ण दाता, सदस्य, शुभचिन्तक र सहयोगीहरूको सामूहिक सद्भावको परिणाम हो। सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु,” अध्यक्ष राजवंशीले भने। उनले आगामी दिनमा पनि नेपालमा आइपर्ने विपद् तथा मानवीय संकटमा आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विपद्को कठिन घडीमा नेपालका नागरिकसँग ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले प्रवासमा रहेका नेपाली समुदाय र मातृभूमिबीचको सम्बन्ध तथा सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको समाजले जनाएको छ।
झापाली समाज अस्ट्रेलियाले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, सदस्य, शुभचिन्तक र सहयोगीप्रति आभार व्यक्त गरेको छ।