‘सिड्नी । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतप्रतिको आफ्नो लगाव र समर्पणलाई निरन्तरता दिँदै आएकी गायिका तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ बाट सम्मानित भएकी छन्।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा काठमाडौंस्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न अवार्ड समारोहमा गौतमलाई उनको सांगीतिक योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको हो। विशेषगरी ‘फूल फुल्यो केशरी’ गीतमार्फत नेपाली गीत–संगीतको क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिँदै आएकी गौतमले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान–पत्र प्रदान गरिएको हो। उनको आगामी सांगीतिक यात्रा अझ सफल र निरन्तर रहोस् भन्ने शुभकामनासमेत आयोजकले व्यक्त गरेको छ।
अवार्ड समारोहमा कला, संगीत तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा गौतमले प्राप्त गरेको सम्मानले प्रवासमा रहेर नेपाली संगीतलाई माया गर्दै सिर्जना र योगदानमा सक्रिय कलाकारहरूको भूमिकालाई समेत थप उजागर गरेको छ।
सम्मानपछि आफ्नो प्रतिक्रिया दिँदै गायिका जेनीषा गौतमले यो उपलब्धिलाई व्यक्तिगत खुसीसँगै नेपाली संगीतप्रतिको आफ्नो यात्राको प्रेरणाका रूपमा लिएको बताइन्।
“प्रवासमा रहेर नेपाली गीत–संगीतका लागि निरन्तर काम गरिरहँदा प्राप्त यो सम्मानले निकै खुसी र उत्साहित बनाएको छ। यो सम्मान मेरो सांगीतिक यात्राको एउटा सुन्दर सम्झना मात्र नभई आगामी दिनमा अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी पनि हो। नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा आगामी दिनमा पनि निरन्तर योगदान दिइरहनेछु,” गौतमले भनिन्।
फूल फुल्यो केशरी’ उनको पछिल्लो सांगीतिक प्रस्तुतिमध्ये विशेष चर्चामा आएको गीत हो, जसले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका प्रेम, सम्बन्ध र प्रवासी जीवनका कथालाई संगीतसँग जोडेको छ।
‘फूल फुल्यो केशरी’ गीतबाट प्राप्त यो सम्मानसँगै गौतमको सांगीतिक यात्राले नयाँ उचाइ थपेको छ। प्रवासमा रहेर पनि नेपालीपन, मौलिकता र संगीतसँगको आफ्नो सम्बन्धलाई निरन्तर जीवन्त राख्दै आएकी गौतमको यो सम्मान नेपाली संगीतप्रतिको उनको समर्पण र सक्रियताको एउटा महत्वपूर्ण सम्मानका रूपमा लिइएको छ।