सिड्नी । नेपाली पप संगीतका चर्चित युवा गायक सुशान्त केसीले अस्ट्रेलियाको सिड्नीस्थित पारामाटाको क्रेसेन्ट पार्कमा भव्य कन्सर्ट गरेका छन्। शनिबार आयोजित कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउँदै नेपाली संगीतको अन्तर्राष्ट्रिय प्रभावसमेत प्रस्तुत गरे।
कन्सर्टको सुरुवात भने भावुक क्षणबाट भएको थियो। भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रम सुरु गरिएको थियो। कन्सर्टअघि कार्यक्रम सञ्चालक रञ्जितराज वन्तले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले कार्यक्रम बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले समेत आयोजना गरिएको जानकारी दिए।
करिब तीन घण्टा चलेको कन्सर्टमा सुशान्तले आफ्ना झण्डै दुई दर्जन लोकप्रिय गीत प्रस्तुत गरे। ‘साथी’, ‘सारंगी’, ‘आमा’, ‘पर्ख न’, ‘बार्दलीमा’ लगायतका चर्चित गीतमा दर्शकले उत्साहपूर्ण साथ दिएका थिए। गीतसँगै दर्शकको हुटिङ, ताली र गायनले क्रेसेन्ट पार्कको माहोल संगीतमय बनेको थियो।
सिड्नीमा अध्ययन पूरा गरेका सुशान्तका लागि यो प्रस्तुति विशेषसमेत रह्यो। चर्चित पश्चिमा कलाकारका ठूला ओपन-एयर कार्यक्रमहरू आयोजना हुँदै आएको क्रेसेन्ट पार्कमा नेपाली कलाकारका रूपमा सुशान्तको प्रस्तुति पहिलोपटक भएको आयोजकको भनाइ छ। यही कारण पनि कार्यक्रमलाई नेपाली संगीतको अन्तर्राष्ट्रिय यात्राका दृष्टिले महत्त्वपूर्ण मानिएको थियो।
दर्शकको उत्साहपूर्ण सहभागिताबाट सुशान्त पनि निकै प्रभावित देखिन्थे। कार्यक्रममा उनले अस्ट्रेलिया र सिड्नीसँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै यहाँबाट आफूले निरन्तर माया र समर्थन पाउँदै आएको बताए।
उनले भने, “सायद अस्ट्रेलिया र सिड्नीसँग जोडिएको मेरो सम्बन्धले पनि हुन सक्छ। यहाँ मैले अपार माया र समर्थन पाउने गरेको छु।”
भोटेकोसी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडाबीच पनि मुस्कान र संगीतमार्फत सहयोगको सन्देश दिन कन्सर्ट आयोजना गरिएको सुशान्तले बताए। यसै क्रममा उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग समेत गरेका छन्।
कार्यक्रम आयोजक टीआरएनका प्रदीप पाठकले नेपाली कलाकार अन्तर्राष्ट्रिय कलाकारभन्दा कुनै हिसाबले कम नरहेको सन्देश दिन क्रेसेन्ट पार्कमा कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रम सञ्चालनमा करिब पाँच लाख डलर खर्च भएको थियो।
“नाफा–घाटाभन्दा पनि दर्शकहरूको साथले कार्यक्रम सफल भयो। यसैमा खुसी छु,” पाठकले भने।
क्रेसेन्ट पार्कमा गुञ्जिएको सुशान्तको प्रस्तुति नेपाली संगीतको बढ्दो अन्तर्राष्ट्रिय पहुँच, अस्ट्रेलियामा नेपाली संगीतप्रतिको आकर्षण र प्रवासी नेपाली समुदायको कलाकारप्रतिको बलियो समर्थनको उदाहरण बनेको छ।