सिड्नी । नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपद् बाडिबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियामा ‘युनाइटेड फर नेपाल : ए नाइट अफ होप, हिलिङ एन्ड सोलिडारिटी’ कार्यक्रम आयोजना हुने भएको छ।
नारी निकुञ्ज अस्ट्रेलिया, एनएसडब्ल्यूको सहकार्यमा आयोजना हुने कार्यक्रम आगामी सेप्टेम्बर ६, आइतबार साँझ ५ देखि ९ बजेसम्म ग्रान्ड प्यालेस फंक्सन सेन्टरमा हुनेछ।
कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिसँगै अस्ट्रेलियाका राजनीतिक तथा स्थानीय तहका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ। एनएसडब्ल्यूका सांसद जुलिया फिन र लिन्डा भोल्ट्ज, ब्ल्याकटाउन सिटीका काउन्सिलर सुसेई बेन्जामिनलगायत स्थानीय नेपाली समुदायका अगुवा तथा सामाजिक अभियन्ताहरू सहभागी हुने आयोजकले जनाएको छ।
नेपाल र नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा नेपाली कला, संस्कृति र समुदायको सहभागितासमेत रहनेछ। विपद्का बेला पीडित नेपाली परिवारसँग भावनात्मक रूपमा जोडिन तथा सहयोग र एकताको सन्देश प्रवाह गर्न कार्यक्रम केन्द्रित रहने आयोजकको भनाइ छ।
नारी निकुञ्ज अस्ट्रेलिया, एनएसडब्ल्यूकी संयोजक आशा श्रेष्ठले विदेशमा रहे पनि नेपालमा आइपर्ने दुःख र विपद्प्रति नेपाली समुदायको जिम्मेवारी उत्तिकै रहेको बताइन्। उनका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई नेपालप्रति माया, आशा र मानवीय ऐक्यबद्धता अभिव्यक्त गर्ने साझा मञ्च बन्नेछ। विपद्को समयमा हामी सबै एक भएर उभिनुपर्ने श्रेष्ठले बताईन ।
कार्यक्रममा सहभागी अस्ट्रेलियाली राजनीतिक तथा स्थानीय प्रतिनिधिहरूले पनि नेपाली समुदायसँग ऐक्यबद्धता जनाउँदै नेपालमा विपद्बबाट प्रभावित नागरिकप्रति समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ। अस्ट्रेलियामा नेपाली समुदायको बढ्दो सामाजिक सक्रियता र नेपाल–अस्ट्रेलिया सम्बन्धलाई समेत कार्यक्रमले थप बलियो बनाउने आयोजकहरूको विश्वास छ।
आयोजकका अनुसार यो कार्यक्रम नेपालप्रतिको माया र संकटमा रहेका नेपालीप्रतिको साथलाई सामूहिक रूपमा अभिव्यक्त गर्ने अवसर हुनेछ।