सिड्नी । नेपालमा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले CIBT Australia र CIHE Australiaले संयुक्त रूपमा ४८ हजार ५१७ अस्ट्रेलियन डलर (करिब ५१ लाख रुपैयाँ) नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।
अष्ट्रेलियामा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका CIBT Australia तथा CIHE Australiaका सञ्चालक, न्यू साउथ वेल्सका पूर्व महावाणिज्यदूत एवं सामाजिक अभियन्ता दीपक खड्काको पहलमा उक्त सहयोग गरिएको हो।
विपत्तिका कारण ज्यान गुमाएका, घरबार तथा जीविकोपार्जनका आधार गुमाएका नेपाली परिवारप्रति समवेदना व्यक्त गर्दै खड्काले संकटको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको बताएका छन्।
“कुनै पनि रकमले गुमेको अमूल्य जीवन फिर्ता ल्याउन सक्दैन। पीडित परिवारले भोगिरहेको पीडा पनि पैसाले मेटाउन सक्दैन। तर यस्तो कठिन समयमा उनीहरूको साथमा उभिएर उनीहरू एक्ला छैनन् भन्ने अनुभूति गराउन सक्छौं,” खड्काले भने।
उनले विपत्तिको समयमा व्यक्ति, व्यवसाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा समुदाय सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार सहयोगको आकारभन्दा पनि संकटका बेला देखाइने मानवीय संवेदना, ऐक्यबद्धता र सहकार्य महत्वपूर्ण हुन्छ।
“हरेक थोपा मिलेर समुद्र बन्छ। हामीले आफ्नो क्षमताअनुसार गरेको सानो सहयोग पनि विपत्तिमा परेका परिवारका लागि ठूलो आशा बन्न सक्छ,” खड्काको भनाइ छ।
अष्ट्रेलियामा लामो समयदेखि उच्च शिक्षा तथा व्यावसायिक शिक्षाको क्षेत्रमा काम गर्दै आएका खड्काले CIBT Australia र CIHE Australiaमार्फत विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गर्दै आएका छन्। शिक्षालाई सामाजिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएका खड्काले सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा बनाउँदै आएका छन्।
नेपाल र नेपाली समुदायसँग निरन्तर जोडिँदै आएका खड्काले विपत्तिको समयमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग जुटाउने प्रयास गर्दै आएका छन्। यसपटक CIBT र CIHE Australiaबाट गरिएको ४८ हजार ५१७ अस्ट्रेलियन डलरको योगदान पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा आएको हो।
उनले देशमा परेको संकटलाई साझा पीडाका रूपमा लिएर सबै नेपालीलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।