सिड्नी । नेपालमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्याइरहेका बेला अस्ट्रेलियामा रहेका नेपालीले राहत र उद्धारका लागि उल्लेख्य सहयोग जुटाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले ४१ हजार ९३ अस्ट्रेलियन डलर अर्थात् करिब ४५ लाख १२ हजार ७ सय ३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।
एनआरएनए अस्ट्रेलियाले विभिन्न नेपाली समुदाय तथा संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरेको आपत्कालीन गोफन्डमी अभियानमार्फत उक्त रकम संकलन गरेको जनाएको छ। अभियानमा अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीसँगै नेपालका शुभेच्छुक, व्यवसायी, सामाजिक संस्था र अन्य सहयोगीहरूको सहभागिता रहेको थियो।
संघका अनुसार अभियानमा ३४८ वटा दान प्राप्त भएका थिए। सानो–ठूलो रकमको परवाह नगरी गरिएको सामूहिक सहयोगले विपद्को समयमा विदेशमा रहेका नेपालीको मातृभूमिप्रतिको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई पुनः उजागर गरेको संघले जनाएको छ।
हालैको बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा जनधन तथा घर, सडक र अन्य भौतिक संरचनामा क्षति पुगेको भन्दै एनआरएनए अस्ट्रेलियाले राहत तथा पुनःस्थापनाका लागि सहयोग अभियान अघि बढाएको थियो।
एनआरएनए अस्ट्रेलियाका अनुसार संकलित रकम २८ अगस्ट २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अनलाइनमार्फत हस्तान्तरण गरिएको हो। अभियानबाट थप रकम प्राप्त भएमा त्यसलाई पनि उद्धार कोषमै पठाइने संघले जनाएको छ।
संघले अभियानमा सहयोग गर्ने प्रत्येक व्यक्ति, संस्था, व्यवसायी तथा समुदायप्रति आभार व्यक्त गर्दै विपद्का बेला नेपाल र नेपाली समुदायका पक्षमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर, महासचिव चुडामणि सापकोटा र प्रवक्ता अशोक बस्नेतद्वारा जारी विज्ञप्तिमा बिपत्तिबाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
बाढीपहिरोको पीडामा परेका नेपालीका लागि अस्ट्रेलियाबाट जुटाइएको यो सहयोगले विदेशमा रहेका नेपाली समुदायले आपत्कालीन अवस्थामा देखाउँदै आएको सामूहिक एकता, मानवीय संवेदना र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप बलियो बनाएको छ।