नेभिगेशन
न्यू साउथ वेल्स

नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार  पारामाटामा  ‘क्यान्डललाइट भिजिल’

सिड्नी ।  नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै नेपलिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (NAWS) ले आइतबार पारामाटा स्क्वायरमा ‘क्यान्डललाइट भिजिल’ आयोजना गर्ने भएको छ।

NAWS को आयोजनामा हुने कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरिनेछ। कार्यक्रम अगस्ट ३०, आइतबार साँझ ५ बजे पारामाटा स्क्वायरमा हुनेछ।

विपत्तिको घडीमा नेपाल र नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउनुका साथै प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले NAWS ले सहयोग संकलनका लागि GoFundMe अभियानसमेत सुरु गरिसकेको जनाएको छ। उक्त अभियानमार्फत संकलित रकम प्रधानमन्त्री राहत कोषमा 
जम्मा  गरिने आयोजकले जनएको  छ।

NAWS का अध्यक्ष चिरञ्जीवी तिवारीले प्राकृतिक विपत्तिका बेला प्रवासमा रहेका नेपाली समुदायले मानवीय संवेदनाका साथ नेपाल र पीडित परिवारको साथमा उभिनुपर्ने बताएका छन्।

“नेपालमा प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारको पीडा हाम्रो पनि पीडा हो। प्रवासमा रहे पनि हामी नेपाली समुदाय नेपाल र नेपाली जनताको दुःखमा सधैं साथमा छौं। क्यान्डललाइट भिजिलमार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रभावित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहन्छौं। साथै, राहत तथा सहयोगका लागि GoFundMe अभियान पनि सुरु गरेका छौं। इच्छुक सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्दछौं,” तिवारीले भने।

उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई आइतबारको कार्यक्रममा सहभागी भई विपत्तिमा परेका नेपालीप्रति एकजुटता प्रदर्शन गर्न तथा राहत अभियानमा हातेमालो गर्न आग्रह गरेका छन्।

कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर बाढीपीडितको सम्झना गर्ने तथा नेपालमा विपत्तिबाट प्रभावित समुदायप्रति प्रार्थना र ऐक्यबद्धता व्यक्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्