सिड्नी। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएका, बेपत्ता भएका तथा प्रभावित नागरिकको सम्झना गर्दै सिड्नीमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत एससीसी–एनएसडब्ल्यूको आयोजनामा आज, शनिबार २९ अगस्ट २०२६, साँझ ५ बजेदेखि ७ बजेसम्म सिड्नीको मार्टिन प्लेसमा कार्यक्रम हुने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता नागरिकको सकुशल उद्धारका लागि प्रार्थना र प्रभावित परिवारप्रति ऐक्यबद्धता प्रकट गरिनेछ। साथै घाइते, विस्थापित तथा प्रभावित परिवारहरूको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गरिने आयोजकले जनाएको छ।
एनआरएनए अस्ट्रेलिया एनएसडब्ल्यूकी राज्य संयोजक उषा बारियाले विपद्को यस दुःखद घडीमा नेपाली समुदाय एकजुट हुँदै पीडित परिवारप्रति साथ, समवेदना र ऐक्यबद्धता प्रकट गर्न कार्यक्रममा सहभागी हुन सिड्नीस्थित नेपाली समुदाय तथा सर्वसाधारणलाई आह्वान गरेकी छन्।
कार्यक्रमको मूल सन्देश ‘एक दीप, एक प्रार्थना, एक नेपाल—आशामा सँगसँगै’ रहेको छ। आयोजकका अनुसार एक दीप प्रज्वलनमार्फत दिवंगतप्रति श्रद्धाञ्जली, एक प्रार्थनामार्फत बेपत्ताको सकुशल उद्धार तथा प्रभावित परिवारका लागि आशा र एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।
नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। पछिल्लो विवरणअनुसार घटनामा सयौं नागरिकले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा मानिस बेपत्ता भएका छन्। विपद्बाट अस्ट्रेलियामा रहेका नेपाली समुदायका परिवारसमेत प्रभावित भएको जनाइएको छ।
एनआरएनए अस्ट्रेलिया एनएसडब्ल्यू राज्य समितिका सचिव प्रताप पन्थीका अनुसार, दुःखको यस समयमा प्रवासमा रहेका नेपालीहरूलाई एक ठाउँमा भेला गराई मातृभूमिमा रहेका पीडितप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
अस्ट्रेलियामा रहेका नेपाली समुदायले यसअघि पनि नेपालमा भएका विभिन्न प्राकृतिक विपद्का बेला दीप प्रज्वलन, प्रार्थना तथा राहत अभियानमार्फत पीडितप्रति साथ र सहयोग जनाउँदै आएका छन्।
एनआरएनए अस्ट्रेलियाले बाढी तथा अन्य विपद्बबाट प्रभावित नागरिकका लागि आपत्कालीन राहत अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ। राहत तथा सहयोगमार्फत प्रभावित परिवारलाई तत्काल आवश्यक सहायता उपलब्ध गराउने प्रयास भइरहेको संघले जनाएको छ।
आयोजकले आज साँझ हुने दीप प्रज्वलन कार्यक्रममा सहभागी भई नेपालका बाढीपीडितप्रति श्रद्धाञ्जली, समवेदना र ऐक्यबद्धता प्रकट गर्न सिड्नीवासी नेपाली समुदायलाई आग्रह गरेको छ।