नेभिगेशन
न्यू साउथ वेल्स

भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग

सिड्नी। । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको परोपकारी संस्था ‘एक्सपर्ट फाउन्डेसन’ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

संस्थाका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त क्षेत्रमा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। विपद्का कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो निर्णय गरेको जनाएको छ।IMG_6777-1787885600.jpeg

भोटेकोशी क्षेत्रमा आएको बाढीले स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुनुका साथै भौतिक संरचना तथा सम्पत्तिमा समेत ठूलो क्षति पुर्‍याएको संस्थाले जनाएको छ। विपद्को अवस्थामा प्रभावितहरूको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेको फाउन्डेसनको भनाइ छ।

फाउन्डेसनले बाढीका कारण ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीपछि बेपत्ता भएका व्यक्तिको शीघ्र खोजी तथा उद्धार गर्न र प्रभावित परिवारलाई आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

संस्थाले विपद्का बेला पीडित समुदायलाई साथ दिनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सामाजिक पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्