सिड्नी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई प्रवासमा नेपालीपन, संस्कृति र सामुदायिक एकतासँग जोड्दै रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया (RSNA) ले ‘तीज धमाका नाइट–२०२६’ आयोजना गर्ने भएको छ ।
अगस्ट १५ शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म ग्रान्ड प्यालेस फंक्सन सेन्टर, अबर्नमा हुने कार्यक्रममा नेपालका लोकप्रिय कलाकार मञ्जु पौडेल र खुमन अधिकारीको विशेष सांगीतिक प्रस्तुति रहनेछ । तीजका मौलिक गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिसँगै नेपाली समुदायबीच भेटघाट र आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा अष्ट्रेलियामा रहेका विभिन्न पुस्ताका नेपालीलाई सहभागी गराउने गरी सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधि समेटिने आयोजकले जनाएको छ । विशेषगरी नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने माध्यमका रूपमा कार्यक्रमलाई अघि बढाइएको छ ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाकी अध्यक्ष रञ्जिता अधिकारी भण्डारीले विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिनुपर्ने बताऊदै उनले भनिन्- “तीज हाम्रो संस्कृति, भावना र सामाजिक सम्बन्धसँग जोडिएको पर्व हो । अष्ट्रेलियामा रहे पनि आफ्नो मौलिक पहिचान र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनु हाम्रो जिम्मेवारी हो । ‘तीज धमाका नाइट–२०२६’ केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई नेपाली समुदायलाई एउटै ठाउँमा जोड्ने साझा उत्सव बनाउने हाम्रो प्रयास हो ।”
अध्यक्ष रञ्जिताले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने प्रायोजक, कलाकार, स्वयंसेवक, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायप्रति हामी आभार ब्यक्त गर्दै सबै समुदायलाई उपस्थितिको लागि आग्रह गरेकी छिन् ।
कार्यक्रमका लागि प्रति व्यक्ति ५५ अष्ट्रेलियन डलर टिकट मूल्य तोकिएको छ । चार जनाको समूहका लागि २०० डलरमा टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । टिकटमा तीन परिकारको भोजन समेत समावेश गरिएको छ ।
कार्यक्रममा लक्की ड्रको समेत व्यवस्था गरिएको छ । Asan Jewellersबाट तिलहरीलगायतका आकर्षक पुरस्कार तथा UKB Collectionबाट उपहारको व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई Raine & Horne Leppington | Austral सहित विभिन्न व्यवसाय तथा संस्थाले सहयोग गरेका छन् । Grand Palace Function Centre कार्यक्रमको भेन्यु तथा हस्पिटालिटी पार्टनरका रूपमा रहेको छ ।
आयोजकका अनुसार कार्यक्रमलाई केवल तीज विशेष सांस्कृतिक कार्यक्रमका रूपमा सीमित नगरी संगीत, नृत्य, खानपान, भेटघाट र सामुदायिक एकताको उत्सवका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।