सिड्नी। अष्ट्रेलियामा नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा विगत २७ वर्षदेखि सक्रिय नेप्लिज अष्ट्रेलियन वेलफेयर सोसाइटी (NAWS) ले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा दोस्रो पुस्ताका नेपाली युवा खेलाडीहरूको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्ने भएको छ।
यसका लागि संस्थाले ‘NAWS Junior Sports Excellence Recognition & Appreciation Awards’ अन्तर्गत योग्य खेलाडीहरूको Expression of Interest (EOI) आवेदन खुला गरेको जनाएको छ।
NAWS का अनुसार अष्ट्रेलियामा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवाहरूले विभिन्न खेल विधामा राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा हासिल गरेका उल्लेखनीय सफलतालाई समुदायमाझ चिनाउने, उनीहरूको मेहनतको कदर गर्ने तथा आगामी पुस्तालाई प्रेरणा दिने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो।
संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीले नेपाली समुदायमा हुर्किरहेका प्रतिभाशाली युवा खेलाडीहरू समुदायको गौरव भएको उल्लेख गर्दै उनीहरूको योगदानलाई औपचारिक रूपमा सम्मान गर्न लागिएको बताए। उनले योग्य खेलाडी भएका अभिभावकलाई निर्धारित मितिभित्र आवेदन दर्ता गर्न आग्रह गरेका छन्।
NAWS ले सम्पूर्ण नेपाली समुदायलाई आफ्ना योग्य बाल बालिकाहरुको सहभागिता सुनिश्चित गर्दै दोस्रो पुस्ताका नेपाली खेल प्रतिभाको सफलता सामूहिक रूपमा उत्सवका रूपमा मनाउन आह्वान गरेको छ।
यस सम्मानका लागि १८ वर्षमुनिका नेपाली मूलका अष्ट्रेलियाली (Nepalese Australian) तथा राज्यस्तर (State Level) वा सोभन्दा माथिका प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका खेलाडीहरू योग्य हुनेछन्।
आवेदन Expression of Interest (EOI) फारममार्फत दिन सकिनेछ भने आवेदन पेश गर्ने अन्तिम मिति २० अगस्ट २०२६ तोकिएको छ।