नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियामा नेपाली अभिभावक समाजद्वारा ‘खिर खाने’ कार्यक्रम सम्पन्न

सिड्नी। नेपाली अभिभावक समाज अष्ट्रेलियाले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रावण १५ को अवसरमा ‘खिर खाने’ विशेष कार्यक्रम आयोजना गरेको छ। सिड्नीस्थित Scott Memorial Park, Austral NSW मा शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली समाजमा श्रावण १५ लाई सांस्कृतिक र सामाजिक रूपमा विशेष महत्वका साथ मनाउने परम्परा रहँदै आएको छ। सोही परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा खिर ग्रहण गर्दै नेपाली संस्कृतिप्रतिको अपनत्व र एकताको भावना अभिव्यक्त गरेका थिए।

कार्यक्रम नेपाली अभिभावक समाज अष्ट्रेलियाका अध्यक्ष कृष्णबहादुर कर्मचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष रमण खतिवडाले स्वागत मन्तव्य राख्दै श्रावण १५ को सांस्कृतिक महत्व, नेपाली समुदायबीच एकता अभिवृद्धि तथा नयाँ पुस्तामा मौलिक परम्परा हस्तान्तरण गर्न यस्ता कार्यक्रमको आवश्यकता औँल्याए। कार्यक्रमको सञ्चालन ईश्वर बाबु थापाले गरेका थिए।

कार्यक्रममा विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका प्रतिनिधि, समाजका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाली भाषा, संस्कृति, परम्परा र चाडपर्वको संरक्षणमा यस्ता सामुदायिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

विशेष अतिथिका रूपमा FeNCAA New South Wales का संयोजक एवं समाजका सल्लाहकार मुक्तिराम पोखरेल, अनेसास सिड्नी च्याप्टरका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष भावना पराजुली, समाजका पूर्वअध्यक्ष गणेश पोखरेल तथा सल्लाहकारहरू रेनु नापित, तिलुराज भण्डारी, सञ्जित अधिकारी लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले नेपाली समुदायबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान र सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै प्रवासमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए।

नेपाली अभिभावक समाज अष्ट्रेलियाले आगामी दिनमा पनि नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा समुदायबीच एकता र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्