नेभिगेशन
न्यू साउथ वेल्स

कालिकोटको विद्यालय पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको च्यारिटी डिनर सम्पन्न     

करिब ११ हजार अष्ट्रेलियन डलर संकलन

सिड्नी। कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित एक सामुदायिक विद्यालयको भवन पुनर्निर्माणमा सहयोग जुटाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी डिनर सफलतापूर्वक सम्पन्न भएको छ। ‘गिभिङ इनिसियटिभ’ नाम दिइएको उक्त कार्यक्रम अगस्ट १ मा सिड्नीको झरना फङ्सन सेन्टरमा आयोजना गरिएको हो।
कार्यक्रममा बार्टन निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसद आश अम्बिहाइपहार, बरउड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट, हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेल, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेत, ई. प्रकाश श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।att.IDLWZ1aCBSuzaA1jNjmbcnoc8aeFLSPYJ_AfotBTOU0-1785801920.jpeg

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अम्बिहाइपहारले हेल्प नेपाल नेटवर्कले नेपालका दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा गर्दै आएको योगदान प्रभावकारी र उदाहरणीय रहेको बताइन्। यस्ता सामाजिक अभियानमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने उनको प्रतिबद्धता थियो।
काउन्सिलर सुकृति भट्टले नेपालमा पुस्तकालय स्थापना तथा शैक्षिक पूर्वाधार विकासका लागि बरउड काउन्सिलमार्फत सम्भावित सहयोगका विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

att.IpWT3gta7T5-GdbkWowhEQrkV8RD6I5iSkJ6hmvWwHU-1785803431.jpeg

हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले संस्थाले १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने दीर्घकालीन अभियान अघि बढाइरहेको जानकारी दिए। उनले संस्थामार्फत विभिन्न परियोजनामा सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरे।
कार्यक्रममा पर्वत तथा प्रकृति छायांकनका लागि परिचित ई. हर्ष गौतमको तस्बिर लिलामीबाट मात्रै १ हजार ५ सय अस्ट्रेलियन डलर संकलन भएको थियो। अन्य सहयोगसहित उक्त साँझ अक्सनबाट करिब  ३ हजार  गरी जम्मा ११  हजार अस्ट्रेलियन डलर संकलन भएको आयोजकले जनाएको छ।
हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमका अनुसार संकलित सम्पूर्ण रकम कालिकोट जिल्लाको श्री खापर मष्टा आधारभूत विद्यालयको भवन पुनर्निर्माणमा खर्च गरिनेछ। उनले कार्यक्रममा सहभागी, सहयोगी तथा दाताप्रति धन्यवाद व्यक्त गरिन्।
हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेलले विश्वभर रहेका नेपालीहरूले मातृभूमिप्रति देखाउँदै आएको समर्पण उल्लेखनीय रहेको बताए। ‘हामी त माध्यम मात्र हौं। महाभूकम्पदेखि कोभिड महामारीसम्मका कठिन परिस्थितिमा अस्ट्रेलियास्थित नेपाली समुदायले देखाएको निस्वार्थ सहयोग अत्यन्त प्रेरणादायी छ,’ उनले भने।
कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा दोस्रो पुस्ताका नेपाली युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा हालै पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित ज्यान गुमाएका १० जना पर्वतारोहीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

सामाजिक सेवामा दुई दशकभन्दा लामो योगदान

‘मातृभूमिका लागि महिनामा एक पाउन्ड–एक डलर’ भन्ने नारासहित सन् १९९९ मा स्थापना भएको हेल्प नेपाल नेटवर्कले नेपालभर शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।
संस्थाले हालसम्म देशभरका एक सयभन्दा बढी विद्यालयमा कक्षाकोठा निर्माण, करिब ५० वटा ई–लाइब्रेरी स्थापना तथा सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा सहयोग पुर्‍याएको जनाएको छ।
त्यसैगरी, सन् २००४ मा मुगुको मुर्मामा स्थापना गरिएको हेल्प नेपाल हेल्थ पोस्टमार्फत विगत २२ वर्षदेखि स्थानीय बासिन्दा र पदयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ।
सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बालगृहमा हाल २२ जना असहाय बालिकाले आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन्।
सन् २०१५ को गोरखा भूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न भागमा भएका बाढी, पहिरो र आगलागीका घटनापछि प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापनामा समेत हेल्प नेपाल नेटवर्कले निरन्तर मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्