सिड्नी। नेपाल आदिवासी जनजाति महासङ्घ अष्ट्रेलिया (निन्फा) ले ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस–२०२६ को तयारीबारे जानकारी दिन सञ्चारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेको छ। शुक्रबार क्यान्टरबरीस्थित सिनियर सिटिजन्स हलमा आयोजित कार्यक्रममा आगामी १४ अगस्टमा हुने विशेष समारोहको तयारी, कार्यक्रमको स्वरूप तथा मुख्य आकर्षण सार्वजनिक गरिएको हो।
निन्फाका महासचिव आशिष शेर्पाले कार्यक्रमबारे जानकारी दिँदै १४ अगस्ट साँझ ५:३० बजे हर्स्टभिलस्थित मराना अडिटोरियममा आयोजना हुने दिवस समारोहमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, कला र परम्परालाई प्रतिबिम्बित गर्ने विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने बताए। उनका अनुसार कार्यक्रममा विभिन्न समुदायका मौलिक नृत्य, सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन तथा सांस्कृतिक विविधतालाई उजागर गर्ने विशेष कार्यक्रम रहनेछन्।
कार्यक्रमका सभापति तथा निन्फा अष्ट्रेलियाका अध्यक्ष लक्ष्मण गुरुङले आदिवासी जनजाति समुदायको पहिचान, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस महत्वपूर्ण अवसर भएको बताए। उनले सञ्चारमाध्यम, जातीय तथा सामुदायिक संस्थाहरू र स्वयंसेवकहरूको सहयोगप्रति आभार व्यक्त गर्दै यस वर्षको कार्यक्रमलाई अष्ट्रेलियास्थित नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा भव्य र व्यवस्थित ढंगले सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए।
निन्फाका सांस्कृतिक संयोजक भीम शमशेर गुरुङले कार्यक्रममा नेपालका विभिन्न आदिवासी जनजाति समुदायका मौलिक तथा परम्परागत सांस्कृतिक नृत्य, झाँकी र विशेष सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहने बताए। उनका अनुसार यस वर्षको कार्यक्रमले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
सञ्चारकर्मी भेटघाट कार्यक्रममा अष्ट्रेलियन नेपाली पत्रकार सङ्घ (ANJA) का सल्लाहकार डा. राजु मानन्धर, निन्फाका पूर्वअध्यक्ष चित्रा तुम्बाहाङ्फे, छन्त्याल परिवार अष्ट्रेलियाका अध्यक्ष बुद्धिमान छन्त्याल, विभिन्न जातीय तथा सामुदायिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट ९ का अवसरमा विश्वभर अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै आएको छ। अष्ट्रेलियामा पनि निन्फाले विगतका वर्षहरूदेखि यस दिवसलाई नेपाली आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा, पहिचान र सामाजिक योगदानलाई प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा मनाउँदै आएको छ।
निन्फाले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई आदिवासी जनजातिको सांस्कृतिक विविधता र पहिचानको उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।