सिड्नी। नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आगामी अधिवेशनको तयारीस्वरूप नयाँ सदस्यता आवेदन तथा सदस्यता नवीकरण प्रक्रिया सुरु गरेको छ। समितिले जारी गरेको सूचनाअनुसार सदस्यता आवेदन तथा नवीकरण १ अगस्ट २०२६ देखि १५ अगस्ट २०२६ राति १२:०० बजेसम्म खुला रहनेछ।
समितिका अनुसार सदस्यता लिन वा नवीकरण गर्न इच्छुक सदस्यहरूले australia.nepalijss.org मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
समितिले जनाएको अनुसार हालसम्म ५०० भन्दा बढी सदस्य सदस्यता प्रक्रियामा आबद्ध भइसकेका छन्। सदस्यता नवीकरण गर्न बाँकी रहेका तथा नयाँ सदस्य बन्न इच्छुक नेपालीहरूका लागि १५ अगस्टसम्म आवेदन दिने व्यवस्था गरिएको हो।
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संयोजक अभिमन्यु केसीले संगठनलाई बलियो बनाउने आधार नै व्यापक सदस्य सहभागिता भएको उल्लेख गरे। उनले भने, “अष्ट्रेलियाभर रहेका नेपाली कांग्रेसप्रति आस्था राख्ने तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध सबै साथीहरूलाई सदस्यता अभियानमा जोडिन हार्दिक आह्वान गर्दछु। संगठनको मजबुती, एकता र आगामी अधिवेशनको सफलताका लागि प्रत्येक सदस्यको सक्रिय सहभागिता अपरिहार्य छ।”आगामी अधिवेशनलाई थप व्यवस्थित, समावेशी र लोकतान्त्रिक बनाउन सदस्यताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको संयोजक केसीले बताए।
विशेषगरी न्यू साउथ वेल्स (NSW) मा बसोबास गर्ने सदस्यता लिन वा नवीकरण गर्न छुटेका सम्पूर्ण नेपाली समुदायलाई तोकिएको समयसीमाभित्र आवेदन प्रक्रिया पूरा गर्न न्यू साउथ वेल्स संयोजक सीतल गिरीले सबैलाई आग्रह गरेका छन् । उनले भने, “संगठनको वास्तविक शक्ति सक्रिय सदस्यमा निहित हुन्छ। सदस्यता नवीकरण तथा नयाँ सदस्यता अभियानलाई सबैले आफ्नो दायित्वका रूपमा लिएर समयमै आवेदन दिनु आवश्यक छ। यसले आगामी अधिवेशनलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।”
सदस्यता आवेदन, नवीकरण वा अन्य प्राविधिक सहयोग आवश्यक परेमा निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने समितिले जनाएको छ।
* सीतल गिरी – JSS Coordinator, NSW
* सूर्य खनाल – ०४३२ ६६१ ७०२
* समीर खतीवडा – ०४९८ १३६ २६३
* सम्राट कँडेल – ०४२४ ४५० २४०
* सुशान्त तामाङ – ०४०५ २०५ १११
* सुदीप बिष्ट – ०४२५ ४१५ ३८६
नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया विगत दुई दशकदेखि अष्ट्रेलियामा लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक उत्तरदायित्व र नेपाली समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो। संस्थाले अष्ट्रेलियाका विभिन्न राज्यमा संगठन विस्तार गर्दै नेपाली समुदायबीच एकता, सहभागिता र लोकतान्त्रिक संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आगामी अधिवेशनलाई संगठनलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको समितिको भनाइ छ।आगामी दुई महिना भित्रमा अधिबेशन गर्ने लक्ष्य नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले लिएको छ ।