नेभिगेशन
न्यू साउथ वेल्स

विश्वभरका नेपाली युवा उद्यमी सिड्नीमा सम्पन्न , नेपालमा लगानी र विश्वव्यापी सहकार्यमा जोड

सिड्नी ।  विश्वका विभिन्न मुलुकमा व्यवसाय, प्रविधि, लगानी र नवप्रवर्तनका क्षेत्रमा सक्रिय नेपाली युवा उद्यमीहरूलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सिड्नीमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले विश्वभर छरिएका नेपाली उद्यमीबीच सहकार्य विस्तार, नेपालमा लगानी प्रवर्द्धन, प्रविधिमा आधारित उद्यम विकास तथा विश्वव्यापी व्यवसायिक सञ्जाल निर्माणका विषयलाई प्राथमिकताका साथ अघि सारेको आयोजकले जनाएको छ।

IMG_6449-1785190366.jpeg
 

IMG_6446-1785189758.jpeg
 

जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा सम्पन्न सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४ सय नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। सम्मेलनको आयोजना अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE) को अन्तर्राष्ट्रिय कार्य समितिले गरेको थियो भने व्यवस्थापन महासंघको अष्ट्रेलिया च्याप्टरले गरेको थियो।

सम्मेलनमा नेपाल, अष्ट्रेलिया तथा अन्य मुलुकका सरकारी निकाय, वित्तीय संस्था, निजी क्षेत्र, प्रविधि कम्पनी तथा अन्तर्राष्ट्रिय व्यवसायिक संस्थाका ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले आफ्नो अनुभव, दृष्टिकोण र अनुसन्धान प्रस्तुत गरेका थिए। कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, उद्यमशीलता, वित्तीय पहुँच, लगानी व्यवस्थापन तथा विश्वव्यापी व्यवसाय विस्तारका सम्भावनाबारे कार्यपत्र प्रस्तुत हुनुका साथै विषयगत प्यानल छलफलहरू सञ्चालन गरिएको थियो।

सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले नेपालमा निजी क्षेत्रको सहभागिता बढाउन तथा वैदेशिक लगानी आकर्षित गर्न सरकारले नीतिगत सुधारलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे।IMG_6448-1785190234.jpeg

उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण क्रमशः अनुकूल बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

“नेपालमा लगानीका लागि सकारात्मक वातावरण निर्माण भइरहेको छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालसँग जोड्न म सम्पूर्ण नेपाली उद्यमीलाई आग्रह गर्छु। नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने नीतिगत सुधारमा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको छ,” अर्थमन्त्री वाग्लेले भने।

दुईदिने सम्मेलनका विभिन्न सत्रहरूमा कृत्रिम बुद्धिमत्ताले व्यवसाय र उद्योगमा ल्याइरहेको परिवर्तन, डिजिटल प्रविधिमा आधारित उद्यम विकास, नेपाली स्टार्टअपहरूको अन्तर्राष्ट्रिय सम्भावना, वैकल्पिक लगानीका अवसर तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको थियो।

सहभागीहरूले नेपाली स्टार्टअपलाई विश्व बजारसँग जोड्न अन्तर्राष्ट्रिय लगानी, प्रविधि हस्तान्तरण, रणनीतिक साझेदारी तथा उद्यमीबीच अनुभव आदान–प्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, विश्वभर रहेका नेपाली व्यवसायीको नेटवर्कलाई नेपालको आर्थिक विकास र रोजगारी सिर्जनासँग जोड्ने विषय पनि सम्मेलनको प्रमुख एजेन्डाका रूपमा उठाइएको थियो।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE) का अध्यक्ष गोकर्ण ढकालले सम्मेलनले विश्वभर फैलिएका नेपाली युवा उद्यमीबीच व्यवसायिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनका अनुसार सम्मेलनले लगानी साझेदारी, ज्ञान आदान–प्रदान, प्रविधि सहकार्य तथा नेपाल केन्द्रित उद्यम प्रवर्द्धनका लागि दीर्घकालीन आधार तयार गरेको छ।

उनले सम्मेलनबाट नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसँग अझ सशक्त रूपमा जोड्ने, विश्वव्यापी साझेदारी विस्तार गर्ने तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई संस्थागत रूपमा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए।

फिने अष्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसेले सम्मेलनले अष्ट्रेलियासहित विश्वभरका नेपाली युवा उद्यमीलाई एकै मञ्चमा जोड्दै सहकार्य र लगानीका नयाँ अवसर सिर्जना गरेको बताइन्।

“यो सम्मेलनले नेपाली उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउने विश्वास लिएका छौं। यसबाट विश्वभरका नेपाली उद्यमीबीच सहकार्य र नेपालकेन्द्रित लगानीलाई थप ऊर्जा मिल्नेछ,” चालिसेले भनिन्।

फिनेका प्रवक्ता दिक्पाल  देव पंगेनीले सम्मेलनले विश्वभर रहेका नेपाली युवा उद्यमीबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नवप्रवर्तन, प्रविधि र लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गरेको बताए।

उनका अनुसार सम्मेलन केवल औपचारिक भेटघाटमा सीमित नभई विश्वभर फैलिएका नेपाली उद्यमी, लगानीकर्ता, नीति निर्माता र प्रविधि विज्ञबीच अनुभव आदान–प्रदान, साझेदारी विस्तार र नेपालकेन्द्रित लगानी प्रवर्द्धनका लागि प्रभावकारी अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित भएको छ।

“यो सम्मेलनले विश्वभर रहेका नेपाली उद्यमीलाई एउटै मञ्चमा जोड्दै ज्ञान, अनुभव र अवसर आदान–प्रदान गर्ने महत्वपूर्ण आधार तयार गरेको छ। यसबाट नेपालकेन्द्रित लगानी र अन्तर्राष्ट्रिय सहकार्य अझ विस्तार हुने विश्वास लिएका छौं,” पंगेनीले भने।

सम्मेलनको समापनसँगै सहभागीहरूले विश्वभर रहेका नेपाली उद्यमीहरूको सहकार्यलाई अझ सुदृढ बनाउने, लगानी र नवप्रवर्तनका साझा परियोजनामा सहकार्य गर्ने तथा आगामी दिनमा नेपाललाई विश्वव्यापी उद्यमशीलताको केन्द्रका रूपमा स्थापित गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, महासंघले आगामी विश्व नेपाली युवा उद्यमी सम्मेलन सन् २०२८ मा चीनको ग्वाङझाउ (Guangzhou) मा आयोजना गर्ने निर्णयसमेत गरेको छ। आयोजकका अनुसार आगामी सम्मेलनमा अझ धेरै देशका नेपाली उद्यमी, लगानीकर्ता, प्रविधि कम्पनी तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहभागिता सुनिश्चित गर्ने तयारी गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्