सिड्नी। पश्चिमी सिड्नीस्थित नेपाली समुदायले गत जुन २१ तारिक १२औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाएको छ। ‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने नारासहित नेपाली समुदाय, वेस्टमिडको आयोजनामा अर्मिङ्टन
कम्युनिटी सेन्टरमा कार्यक्रम सम्पन्न भएको हो।
योग साधक–साधिका, बालबालिका, परिवार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा योगलाई स्वस्थ जीवनशैली, मानसिक शान्ति, आध्यात्मिक विकास र सामाजिक एकताको माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।
योग समूहका ज्येष्ठ सदस्य यादव ढुंगेल र बसुन्धरा ढुंगेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि पञ्चयोगिनीहरूको मार्गदर्शनमा बालयोगी समूहले वैदिक मन्त्र वाचन तथा ‘भूमि नमस्कार’ प्रस्तुत गरेको थियो।
कार्यक्रमको प्रमुख आकर्षण बालयोग प्रतियोगिता र १०८ सूर्य नमस्कार बने। बालबालिकाले विभिन्न योगासनमार्फत आफ्नो शारीरिक क्षमता, सन्तुलन, एकाग्रता र आत्मविश्वास प्रदर्शन गरेका थिए। बालबालिका तथा वयस्क योग साधकहरूले उत्साहपूर्वक १०८ सूर्य नमस्कार पूरा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै समुदायकी अध्यक्ष तथा संयोजक डा. शोभा नेपालीले आधुनिक जीवनशैलीमा योगको महत्व बढ्दै गएको बताइन्। योगले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले तनाव व्यवस्थापन, स्वास्थ्य संरक्षण र जीवनमा सन्तुलन कायम गर्न योगको महत्वपूर्ण भूमिका रहेको बताइन्।
‘योग केवल शारीरिक व्यायाम होइन, शरीर, श्वास र मनबीच सन्तुलन कायम गर्ने जीवनपद्धति हो,’ उनले भनिन्।
सिटी अफ पारामाटा काउन्सिलका अस्मिङ्टन वार्ड काउन्सिलर श्रीनिवास पिल्लामारीले योगले विभिन्न संस्कृति र समुदायबीच एकता र सहकार्य बढाउन सक्ने बताए। उनले नेपाली समुदायको विकास, भावी पुस्ताको स्वास्थ्य तथा सशक्तीकरण र सामाजिक गतिविधिमा आफू निरन्तर सहयोग गर्न तयार रहेको बताए।
दिउँसोको सत्रमा वरिष्ठ योगी असिम लम्सालको नेतृत्वमा चक्र ध्यान सञ्चालन गरिएको थियो। सन्तोष ढकाल, निमा पोखरेल र जेन खड्गीले सहजीकरण गरेको ध्वनि–चिकित्सा (साउन्ड हिलिङ) सत्रले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
बालयोग प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने रागी लम्साल, समैया लम्साल र ऋष बोहोरालाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो। सन् २०२१ देखि निरन्तर योग कक्षामा सहभागी हुँदै आएका तथा ‘योगाव्हिल’ नामक खेलयोग विकास गरेका आश्रभ बोहोरालाई विशेष सम्मान गरिएको थियो।
सात्त्विक तथा स्वास्थ्यवर्धक महाप्रसाद वितरणसँगै कार्यक्रम समापन गरिएको थियो। आयोजकका अनुसार समारोहले योगलाई शारीरिक अभ्यासमा मात्र सीमित नराखी स्वास्थ्य, मानसिक शान्ति, आध्यात्मिक विकास, सामाजिक सद्भाव र मानवीय एकतासँग जोडिएको जीवनपद्धतिका रूपमा स्थापित गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, स्वयंसेवक, योग साधक तथा सहभागीहरूलाई आयोजक नेपाली समुदाय, वेस्टमिडले आभार व्यक्त गरेको छ।